सप्तरी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जन्मदर्ता प्रमाणपत्र बनाइदिने भन्दै घुस मागेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दर्ता गरेको छ ।
सप्तरीको महादेवा गाउँपालिका ६ का वडासचिव नायव सुब्बा नवोनाथ मिश्रले जन्मदर्ताको प्रमाणपत्र बनाउन पुगेका सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले पक्राउ गरेको थियो ।
वडासचिव मिश्रले आफ्नो जिम्मेवारी र पदीय दायित्व विपरीत सेवाग्राहीको जन्म दर्ता गराई दिनको लागि घुस लिएको पुष्टि भएकाले बिगोबमोजिम कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यसैबीच, सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीस्थित भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार नेत्रबहादुर चौधरीलाई आज नियन्त्रणमा लिएको छ ।
मोही जग्गा बाँडफाँडमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट रु ४० हजार घुस लिएको आरोपमा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले आज दिउँसो कार्यालय परिसरबाटै भूमिसुधार शाखाका खरिदार चौधरीलाई रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसाल जानकारी दिए ।