चितवन- आफ्नै श्रीमती भन्दैमा इच्छाविपरीत यौनसम्पर्क राख्ने चाहना राख्नुभएको छ भने सावधान ! २०७४ भदौदेखि लागू भएको नयाँ (मुलुकी अपराध संहिता) कानुनअनुसार श्रीमतीको इच्छाविपरीत जर्बजस्ती यौनसम्पर्क राख्न खोजे बलात्कारको कसुरमा सजाय हुन्छ ।
भरतपुर महानगरपालिका-२१ मा पनि यस्तै घटना भएको छ । १९ वर्षीया श्रीमतीलाई बलात्कार गरेको आरोपमा भरतपुर २१ का २२ वर्षीय अजय श्रेष्ठ नयाँ कानुनको फन्दामा परेका छन् ।

श्रेष्ठलाई बुधबार चितवन अदालतका न्यायाधीश विनोद गौतमको एकल इजलासले सात वर्ष कैद सजाय र पीडित श्रीमतीलाई दुई लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

गत माघ १७ गते १९ वर्षीया पीडितले आफ्नै श्रीमानविरुद्ध बलात्कार गरेको भन्दै चितवन प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । निजकै जाहेरीअनुसार प्रहरीले अजयलाई श्रीमती बलात्कार कसुरमा मुद्दा चलाएको थियो ।

यस प्रकरणले आफ्नै श्रीमतीसँग पनि इच्छाविपरीत यौनसम्पर्क राखेमा श्रीमतीको जाहेरीका आधारमा पीडकले कडा सजाय भोग्नुपर्ने नजिर स्थापित भएको छ ।

तपाईको प्रतिक्रिया