चितवन- पूर्वी चितवनको खैरहनी नगरपालिका–५, जबकौली गौचरणमा यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुन लागेको सातौँ खिचरा महोत्सवको अन्तिम तयारी भएको आयोजकले जनाएको छ ।
थारु समुदायको माघी (खिचरा) पर्वको अवसरमा थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले महोत्सवको आयोजना गरेको हो । सभाले बुधबार पत्रकार सम्मेलनमार्फत् महोत्सवको तयारी र उद्देश्यबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको हो ।
थारु समुदायको सांस्कृतिक वर्ष, भेषभूषा, भाषाको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ७ का सभापति एवम् महोत्सवका संयोजक चूडामणि चौधरीले बताए ।
महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला–संस्कृतिको प्रवद्र्धन, स्थानीयस्तरमा उत्पादित वस्तुको प्रवद्र्धन गराउन १५० वटा स्टल रहने अनुगमन तथा मूल्याङ्कन समितिका संयोजक वासुदेव चौधरीले जानकारी दिए ।
महोत्सवमा थारु जातिका साथै विभिन्न जातिका खानाका परिकारको स्टलसमेत रहने बताइएको छ । महोत्सव परिसरमै थारु मिनी गाउँ परिसर, घोङ्गी र पोकाको मूर्ति प्रदर्शनीका लागि राखिने छ । कृषि उपज प्रदर्शनी, अन्तरविद्यालय चित्रकला र हाजिरी जवाफ प्रतियोगिता, ४० वर्षमाथिका पुरूषको दौड, स्लो साइकल रेस, खिचरा फोटो सेल्फी कन्टेस्ट, फेस पेन्टजस्ता गतिविधिसमेत समावेश गरिएको अतिथि सत्कार समितिकी संयोजक चन्द्राकुमारी चौधरीले बताइन् ।
महोत्सवमा सर्वसाधारणका लागि ५० रूपैयाँ र विद्यार्थीका हकमा परिचयपत्र देखाएर ३० रूपैयाँ कायम गरिएको आयोजकले जनाएको छ । महोत्सवमा अपाङ्ग र ज्येष्ठ नागरिकहरुले भने निःशुल्क अवलोकन गर्न पाउनेछन् ।
कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरी, थारु अगुवाहरु राजेन्द्र चौधरीलगायतले महोत्सव सफल पार्न सबैले साथ र सहयोग गर्नुपर्ने बताएका थिए ।