
चितवन- पहिरो रोकथामको लागि काम गर्न भन्दै मंसिर २७ गतेदेखि दैनिक ४ घन्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबार दिउँसोदेखि नियमितरुपमा सुचारु भएको छ ।
पछिल्लोपटक पुस २२ गते सूचना जारी गरी पुस २५ गतेबाट बन्द सडक सुचारु गरिने भनिए पनि मौसम परिवर्तन भई पानी परेसँगै आजदेखि नै सडक नियमितरुपमा सुचारु गरिएको मुग्लिन–नारायणगढ सडक आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
यद्यपि घोषितरुपमा दैनिक ४ घन्टा सडक बन्द नभए पनि पहिरो रोकथामको काम नसकिएकोले बीचबीचमा केही समय सडक अवरुद्ध हुने उनले बताए ।
पहिरो रोकथामको लागि काम गर्न भन्दै मंसिर २७ गतेदेखि दैनिकरुपमा बिहान ११ बजेदेखि ३ बजेसम्म ४ घन्टा सडक बन्द गरिँदै आएको थियो ।
सुरुवातमा पुस १५ गतेसम्म बन्द गर्ने भनिए पनि काम नसकिएको भन्दै दुईपटकसम्म म्याद थप गरेर पुस २४ गतेसम्म सडक बन्द गरिएको थियो । अब भने सो सडकखण्डमा सरर यात्रा गर्न सकिने भएको छ ।