काठमाडौँ । सरकारले पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै त्यहाँ रहेका आप्रवासी कामदारको सुरक्षा नेपालको अति महत्वको विषय भएको बताएको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी पश्चिम एसियाको शान्ति र स्थायित्वलाई जोखिममा पार्ने गरी तनाव बढेको भन्दै सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ ।
साथै सरकारले सबैखाले द्वन्द्व र मतभिन्नताको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्ने नेपालको मान्यता दोहो¥याएको छ ।

यसैबीच, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पश्चिम एसियामा अन्य काम एवं शान्ति सेनामा कार्यरत नेपालीको अवस्था एवं सुरक्षा सम्बन्धमा नेपाली सेनाको मुख्यालयमार्फत त्यहाँस्थित संयुक्त राष्ट्रसङ्घ र सम्बद्ध एजेन्सीसँग सम्पर्क भइरहेको जानकारी दिए । नेपालीहरुको सुरक्षाका लागि सजगता अपनाइएको उनले बताए ।

अन्तरनिकाय समन्वय गर्ने निर्णय

यसैबीच, पश्चिम एशियामा विकसित पछिल्ला घटनाक्रम, विद्यमान सुरक्षा स्थिति तथा त्यस क्षेत्रमा कार्यरत नेपाली नागरिकहरूको अवस्थालगायत विषयमा निकट सम्पर्क र समन्वयमा रहेर काम गर्न सरकारले अन्तरनिकाय समन्वय समिति गठनको निर्णय गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा परराष्ट्र मन्त्रालयमा आज भएको सरोकारवाला विभिन्न निकायका प्रतिनिधित्वसहितको बैठकले त्यस्तो निर्णय गरेको हो ।

बैठकले पश्चिम एशियामा विकसित घटनाक्रमलाई नजिकबाट नियाल्ने र परिस्थितिअनुरूप आवश्यकतानुसार समन्वित ढङ्गबाट त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि तयारीसमेत गर्न परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि समितिमा रहने छन् ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका उच्च प्रतिनिधिहरूको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया