हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकमा पनि राजधानीको सम्भाव्यत अध्ययन प्रतिवेदनमाथि प्रदेशसभाको सदस्यहरुले छुट्टाछुट्टै आ–आफ्नो धारणाहरु व्यक्त गरेका छन् ।
प्रदेशसभा सदस्यहरुले प्रदेशका १३ जिल्लामध्ये बहुसङ्ख्यक जनतालाई पायकपर्ने काभ्रे वा मकवानपुरको हेटौँडामध्ये कुनै एक प्राथमिकताको साथ रोज्नुपर्ने सुझाव दिए ।
उनीहरुले व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर स्थायी राजधानी तोक्ने विषयमा संवेदनशील क्षेत्रलाई मध्यनजर गरेर र बहुसङ्ख्यक जनतालाई सम्बन्धित जिल्लामा नै सेवासुविधा उपलब्ध हुने संवैधानिक व्यवस्थाअनुसार कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
प्रदेशसभा सदस्यहरुले जनताको नाममा राजधानीको विषयलाई राजनीतिको बखेडाभन्दा सिङ्गै प्रदेश र राष्ट्रको वृहत हितका आधारमा सहमतिबाटै निकास दिनुपर्ने आग्रह गरे ।

उनीहरुले सत्तारुढ र प्रतिपक्षको आ–आफ्नो दलको घोषणापत्र र चुनावी रणनीति फरक हुन्छन् तर वर्तमान अवस्थामा तराईको सिमानासँग जोडिएको मकवानपुरलाई राष्ट्रिय एकता र सुरक्षाको अवधारणाका आधारमा सुझाव प्रस्तुत गरे ।

प्रदेशसभाका सदस्यहरुले संविधानको मर्म एवं प्रदेशसभाको स्वतन्त्रताप्रति उपयोग गर्ने भावनालाई दलहरुले निषेध गर्न नहुने धारणा व्यक्त गरेका थिए । उनीहरुले राष्ट्र संकट परेका बेला दलको भावनालाई बुझेर कठोर निर्णय लिनुपर्ने समय आएकाले सो भावनालाई आत्मसाथ गर्न सबै दल मिलेर मकवानपुरको हेटौँडालाई नै राजधानी कायम गर्न केन्द्रित हुन आग्रह गरे ।

उक्त बैठकमा प्रदेशसभाका २१ जना सदस्यहरुले आ–आफ्नो सुझाव दिएका थिए । बैठकमा राजेन्द्र पाण्डे, प्रेमबहादुर पुलामी, रिना गुरुङ, मुनु सिग्देल, केशवराज पाण्डे, ओमबहादुर घलान, राजेन्द्र गुरुङ, जीवन डङ्गोल, आशमाया तामाङ, रमेश पौडेल, रामकाजी महर्जन र विजुला बर्मा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

यसैगरी प्रदेशसभाका सदस्य डा राजेन्द्रमान श्रेष्ठ, सन्तबहादुर प्रजा, केशवप्रसाद पोखरेल, जगतबहादुर सिङ्खडा, न्हुच्छेनारायण श्रेष्ठ, निमा लामा, मिलनबाबु श्रेष्ठ, लालकुमारी पुन र हिमाली बोली पनि छलफलमा सहभागी थिए ।

प्रदेशसभाका सभामुख सानुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक शुक्रबार अर्थात् पुस २५ गने दिनको ३ बजे बस्नेगरी आजको बैठक स्थगित भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया