काठमाडौँ- मेलम्चीको पानी प्रशोधन गरेपछिमात्रै पाइपमार्फत घर–घरमा वितरण गर्न सुन्दरीजलमा निर्माण भएका दुवै खानेपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ ।
मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्नेगरी केन्द्रको निर्माण भएको हो । केन्द्रको निर्माण सम्पन्न भएकाले अब परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

यहाँ रहेका प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा निर्माण भएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

उनका अनुसार जाइकाको सहयोगमा निर्माण भएको ट्यांकी केही समय पहिले नै सम्पन्न भएको थियो भने एडिबीको सहयोगमा निर्माण भएको केन्द्र गत महिनामात्रै सम्पन्न भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको निर्माणस्थलमा काम भइरहँदा पनि आयोजनाले भने पाइपसँगै प्रशोधन केन्द्रको परीक्षण गरिरहेको छ । उनले भने, “वाग्मतीकै पानीबाट नै परीक्षण गरिनेछ ।”

आयोजनाले सुरुङ निर्माण, ‘हेडवर्क’ मा एकएक र प्रशोधन केन्द्र निर्माणमा दुई गरेर चार ठेक्कामार्फत काम अघि बढाएको थियो ।

सुरुङ निर्माण र हेडवर्क निर्माणको काम अहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले गरिरहेको छ । आगामी असारसम्ममा सबै काम सकिएर काठमाडौँ उपत्यकावासीले मेलम्चीको पानी खाने खानेपानी तथा सरसफाइ मन्त्रालयले बताउँदै आएको छ ।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पनि केही समय पहिले समयमै काम सम्पन्न गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया