महोत्तरी- महोत्तरीको भङ्गाहा नगरपालिका–६ मदनपट्टिमा शुक्रबार साँझ दुई जनाले एक कर्मचारीका साथबाट रु पाँच लाख लुटपाट गरेका छन् ।
बर्दिवासस्थित फरवार्ड कम्युनिटी फाइनान्स कम्पनीमा कार्यरत सविता चौधरीलाई मोटरसाइकलमा पिछा गरेका उनीहरूले रु पाँच लाख नगद र कागजातसहितको झोला खोसेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
भङ्गाहा–६ र ७ का ७० बचतकर्ता र ऋणीबाट सङ्कलित रकम लिएर बर्दिवासतर्फ स्कुटीमा फर्किरहेकी चौधरीलाई मोटरसाइकल चढेर पिछा गरेकी ती दुई पुरुषले पेस्तोल देखाएर झोला खोसेका थिए । चौधरी को२८प ६९ नंको स्कुटर चढेको खुले पनि लुटेराले प्रयोग गरेका मोटरसाइकलबारे थाहा हुन सकेको छैन ।
“अहिलेसम्म पीडितको भनाइका आधारमा घटनास्थलमा अनुसन्धान थालिएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भने । घटना साँझ ५ बजे आसपासमा भएको बताइएको छ ।