चितवन- थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा आयोजना हुँदै आइरहेको सातौँ सँस्करणको ‘खिचरा महोत्सव–२०७६’ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन आइतबारदेखि सुरु हुँदैछ ।
पूर्वीचितवनको खैरहनी नगरपालिका–५ गौचरनमा पुस २७ गतेदेखि माघ ८ गतेसम्म संचालन हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको महोत्सव मुल आयोजक समितिका संयोजक चूडामणि चौधरीले जानकारी दिए ।

महोत्सवको एक भव्य समारोहाबीच पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवको समुद्घाटनअघि बृहत् शोभायात्रा निस्किने छ । खैरहनी नगरपालिका वडा नं ८ मगनीचोकदेखि महोत्सव परिसरसम्म विविध जातजाति, संघसंस्थाका झाँकी एवं भेषभूषासहितको शोभायात्रा निस्किने प्रचारप्रसार समितिका संयोजक राजु चौधरीले जानकारी दिए ।

त्यसलगत्तै दिउँसो १२ बजे महोत्सवको भव्य समुद्घाटन गरिने छ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले महोत्सव आयोजना गरेको हो ।

यस महोत्सवको मुख्य उद्देश्य थारु समुदायको सँस्कृतिको संरक्षण गर्नु रहेको आयोजकको भनाइ छ । सोहीअनुरुप महोत्सवमा थारुसँगै विभिन्न जातजातिको परम्परागत भेषभूषा हितको साँस्कृतिक कार्यक्रमलाई जोड दिइएको साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए ।

उनले राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीका साथै मिस नेपालद्धारा थारु भेषभूषासहितको पहिरनमा मेला अवलोकन, मिस्टर एण्ड मिस थारुको फेसन शो र खुल्ला नृत्य प्रतियोगिता राखिएको जानकारी दिए ।

महोत्सवमा यसवर्ष १५० वटा स्टल रहने छन् । जसमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराईको समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरुसमेत रहने आयोजकले जनाएको छ ।

यस्तै महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, अन्तर विद्यालयस्तरीय चित्रकला, हाजिरीजवाफ प्रतियोगिता, ४० वर्षमाथिका पुरुषको भेट्रान दौड, स्लो साइकल रेस, खिचरा फोटो, सेल्फी फोटो प्रतियोगिता र फेस पेन्ट प्रतियोगिता रहने आयोजकले जनाएको छ । यस्तै महोत्सवमा बालउद्यान, मोटर बोटिङको व्यवस्थासमेत गरिएको छ ।

यसवर्ष पनि महोत्सवमा प्रवेशका लागि विगतका जस्तै ५० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ कायम गरिएको आयोजकले जनाएको छ । चितवनका थारु समुदायले माघ १ गते खिचरा पर्व मनाउने गरेका छन् । यही अवसरमा विगत सात वर्षदेखि महोत्सव आयोजना हुँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया