चितवन- हरिहर दुग्ध उत्पादक सहकारी संस्था, रत्ननगर १० को २१औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका उपाध्यक्ष माधव आचार्यको अध्यक्षता एवम् रत्ननगर १० का वडाध्यक्ष केशव आचार्यको प्रमुख आतिथ्यतामा भएको सभामा थानेश्वर चालिसेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सभामा उपाध्यक्ष आचार्यले वार्षिक प्रतिवेदन तथा लेखा समिति संयोजक लोकनाथ पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शेयर सदस्य निलकण्ठ पौडेल, गोमा आचार्य, सिद्धेश्वर पशुपालक संघका अध्यक्ष शंकर धिताल, संस्थाका पूर्वअध्यक्ष नवराज पाठक, नगरस्तरीय सहकारी संस्था समन्वय समितिका अध्यक्ष शिवकान्त पौडेल, केन्द्रीय सहकारी संघका सल्लाहकार एकनारायण पौडेल, सहकारीका सल्लाहकार ज्ञानेन्द्र राज पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो संस्थाको हल निर्माणका लागि प्रदेश सांसद् कृष्णप्रसाद खनालले सांसद् क्षेत्र विकास कोषबाट १० लाख रुपैयाँ सहयोग प्रदान गरेको सो अवसरमा जानकारी गराइएको थियो ।
सो अवसरमा वार्षिक बढी दूध ल्याउने किसानमध्ये पाँच किसान पुरस्कृत भएका थिए । जसमध्ये संस्थाका अध्यक्ष विष्णु पुरी २० हजार ७२७ लिटर दूध ल्याएर प्रथम भएका छन् । यस्तै, गुणस्तरीय दूध ल्याउने तीन, खरिदकर्ता तीन, ज्येष्ठ नागरिक दुई, विद्यार्थी दुई र कर्मचारी छ जनालाई पुरस्कृत गरिएको थियो ।