दमक- प्रदेश नं १ का विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार, झापाको दमक नगरपालिका–४ कृष्ण मन्दिर अगाडि पूर्वपश्चिम राजमार्गमा आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ क ६४९ नम्बरको टिपरले स्थानीयवासी ६९ वर्षीय तुलसा गौतमलाई ठक्कर दिम्दा उनको घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने टिपर तथा टिपर चालक मोरङको मिक्लाजुङ गाउँपालिका–९ का ४० वर्षीय कृष्णबहादुर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

यस्तै धनकुटाको चौबिसे गाउँपालिक–८ एसपीमोडस्थित भेडेटार–बुधबारे सडकखण्डमा टेलर दुर्घटना हुँदा सहचालकको आज मृत्यु भएको छ ।
राजारानी–धनकुटाबाट छ नम्बर बुधबारे जाँदै गर्दा ना ७ ख ७९१७ नम्बरको टेलर घुमाउरो बाटोमा मोडिने क्रममा अनियन्त्रित भई पल्टदा ३५ वर्षीय सहचालक राजकुमार राईलाई सोही टेलरले किच्दा घटनास्थलमै मृत्यु भएको छ ।

टेलर चालक सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ आँखिभुई बस्ने ३१ वर्षीय विन्दुराज महतलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय राजारानीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै झापाको मेचीनगर नगरपालिका–७ ईटाभट्टा चोक छेउमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे४प ९३१३ नं मोटरसाइकललाई यूपि २५ डि १६९३ नं को ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक बारा काँकडी–७ का ४० वर्षीय रामप्रसाद यादवको घटनास्थलमा मृत्यु भएको छ ।

ठक्कर दिने ट्रक र ट्रक चालक भारतको मधुबनी जिल्ला बस्ने ४८ वर्षीय नरेशकुमार यादवलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया