काठमाडौँ- नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवनअगाडि अवस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ ।
सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रनिर्माताको योगदानको स्मरण गर्दै उनको शालिकमा पुष्पहार अर्पण गरी सम्मान प्रकट गरेका हुन् ।
उक्त अवसरमा सैनिक एक टुकडीले राष्ट्रनिर्माताको सम्मानमा सलामी अर्पण गरेको थियो । कार्यक्रममा सैनिक उच्च अधिकृतले पनि उनीप्रति पुष्पगुच्छा अर्पण गरे ।

विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रूपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ ।

पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकका रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पु¥याएको भनी नेताहरुबाटै उनको योगदानको मुक्तकण्ठले सराहना भएको छ ।

मुलुकको विकास र समृद्धिका लागि सुशासन कायम गर्न घूस दिने र लिने दुवै देशका शत्रु हुन् भन्ने राष्ट्रनिर्माताको धारणा सदासर्वदा स्मरणयोग्य रहिआएको छ । राष्ट्रनिर्माताको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा गर्न पछिल्लो समय प्रखररुपमा आवाज मुुखरित हुँदै आएको छ ।

नेपाल एकीकरण नभएको भए औपनिवेशिकताको प्रवाहलाई रोक्न र स्वतन्त्र राष्ट्रकै रूपमा नेपाल रहन सम्भव नरहेको भनी विश्लेषण गरिँदै आएको छ ।
राष्ट्रनिर्माताको २९८औँ जन्मजयन्तीका अवसरमा आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइँदैछ ।

तपाईको प्रतिक्रिया