चितवन- धुर्मुस–सुन्तली फाउन्डेसनको संयोजनमा जनस्तरबाट निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा आईसीसी ग्राउण्ड स्पेसलिस्ट बन्दुला वार्नपुरा जोडिएका छन् । पुस २७ गते फाउन्डेसनको तर्फबाट अध्यक्ष सीताराम कट्टेल र वार्नपुरबीच रङ्गशालाको ग्राउण्डको काम गर्नेगरी सम्झौता भएको हो ।
धुर्मुस–सुन्तली फाउन्डेसनले नेपालमा मैदानका लागि विशेषज्ञ बोलाएको यो पहिलोपटक नै हो । वार्नपुरा नेपालमा काम गर्न पाउनु र देशले मानेको व्यक्तिसँग जोडिन पाएकोमा खुसी भएको बताउँछन् । उनका अनुसार ४ महिनामा प्याराफिटबिना अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने ग्राउण्ड तयार गर्ने र निर्माण अवधिपछि पनि ग्राउण्ड कन्सल्टेन्टका रुपमा जोडिनेछन् ।

वार्नपुरा श्रीलंका टेस्ट क्रिकेट टिमको पहिलो कप्तानसमेत हुन् । उनी झण्डै आठ वर्ष श्रीलंका क्रिकेट बोर्डको क्रिकेट अपरेसन डाईरेक्टरसमेत रहिसकेका छन् । वार्नपुरा श्रीलंकाका लागि पहिलो ओडीआई खेल्ने खेलाडीसमेत हुन्, जसले आफ्नो करियरमा पहिलोपटक श्रीलंकालाई जीत दिलाएका थिए ।

उनले आफ्नो करियरमा सन् १९७९ को विश्वकपमा भारतविरुद्धको खेलमा १८ रन र १ विकेट लिँदै खेल श्रीलंकाको पक्षमा जिताएका थिए । जुन श्रीलंकाका लागि पहिलो जीत थियो र उनको करियरमा यो खेलले इँटा थप्ने काम मात्र गरेन् यो एक एसोसियट सदस्य राष्ट्रद्वारा श्रीलंकाका लागि एकमात्र जीत थियो, जसमा उनको नाम दर्ज छ ।

उनी श्रीलंकाको राष्ट्रिय टिममा प्रशिक्षकसमेत रहेर काम गरेका थिए र सन २००८ सम्म एसियन क्रिकेट काउन्सिल (एसीसी) को डेभलपमेन्ट म्यानेजर रहेर काम गरेका थिए । २०१६ मा ‘युथ वीथ ट्यालेन्ट’ नामक रियालिटी शोमा निर्णयकका रुपमासमेत उनले काम गरिसकेका छन् । हाल उनी आईसीसीअन्तर्गत एसियाको ग्राउण्ड हेर्ने स्पेसलिस्ट रहेर काम गरिरहेका छन् ।

जनस्तरबाट सहयोग संकलन गरी निर्माण गरिने यो रङ्गशालामा विदेशबाट ल्याइएको पहिलो स्पेसलिस्ट उनी हुन् । वार्नपुरालाई रङ्गशाला निर्माण अवधिभरका लागि सम्झौता गरिएको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिएका छन् ।

‘रङ्गशाला निर्माण अन्तर्राष्ट्रियस्तरको मात्रै होइन, यो एउटा नेपालको गौरव पनि भएकाले विज्ञ मानिस राख्नुपर्छ भन्ने हाम्रो टिमको सल्लाहअनुसार उहाँलाई बोलाएका हौं’ वार्नपुराको विज्ञताअनुसार अभियानमा जोडिन बोलाइएको बताउँदै धुर्मुसले भने ‘अझै पनि विशेषज्ञहरु आवश्यक परेको खण्डमा नेपालमै भएका वा विज्ञहरु बाहिरबाट ल्याएर भए पनि सबैले तारिफ गर्ने र सबै देशले खेल्न चाहने रङ्गशाला बनाउँछौँ ।’

तपाईको प्रतिक्रिया