हृदयेन्द्र अनुरागी
चितवन- पूर्वी चितवनको खैरहनी नगरपालिका ५ स्थित गौचरनमा सातौँ खिचरा महोत्सव–२०७६ आइतबारदेखि सुरू भएको छ । महोत्सवको पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले समुद्घाटन गरेका छन् ।
समारोहमा उपसभापति गच्छदारले विभेदमा परेका समुदायको उत्थान नभएसम्म देशको उत्थान हुन नसक्ने बताए । उनले भने, ‘समग्र जातजातिको उत्थानबिना समग्र देशको उत्थान हुन सक्दैन ।’
नेपाली कांग्रेस सबै जातजाति, वर्ग, समुदायको उत्थानमा सदैव सक्रिय रहेको भन्दै सबैको उत्थानका लागि काँग्रेस लागिपरेको बताए ।
नेता गच्छदारले नेपाली कांग्रेसकै सरकारको नेतृत्वले नै संविधान निर्माण गरेको भन्दै वर्तमान सरकारलाई संविधान मिच्ने काम नगर्न आग्रह गरे । उनले संविधानको मर्मविपरीत विधेयक नल्याउन आग्रह गरे । उनले भने, ‘संविधान जारी गर्नमा मेरो पनि अहं भूमिका छ, सबैको अपनत्व हुने संविधान प्रगतिशील छ, यसलाई बिगार्ने काम नगरियोस् ।’
समुद्घाटन समारोहमा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका जगन्नाथ आचार्य, थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरी, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, खिचरा महोत्सव अतिथि आमन्त्रण समितिका संयोजक जोखाप्रसाद चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
खिचरा महोत्सव अतिथि सत्कार समितिकी संयोजक चन्द्रकुमारी चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ का सभापति एवं महोत्सव मूल समारोह समितिका संयोजक चूडामणि चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
जोशीसहित पाँच सम्मानित
खिचरा महोत्सवले विभिन्न क्षेत्रमा योगदान दिने पाँच जनालाई सम्मान गरेको छ । महोत्सवले पत्रकारिता क्षेत्रतर्फ चितवनको पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील बीबीसी नेपाली सेवा एवं नेपाल टेलिभिजनका संवाददाता ईश्वर जोशीलाई नगदसहित सम्मान गरेको छ ।
यस्तै, चितवनको थारु समुदायबाट चिकित्साशास्त्रमा स्नातक तह उत्तीर्ण गरेका खैरहनी नगरपालिका–९ बैरहनीका डा. सचिन चौधरी, माडी निवासी हाल भरतपुर ११ की डा. कृति महतो, भरतपुर २ निवासी डा. प्रितम चौधरी र एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल खैरहनी १० कठारकी सन्ध्या चौधरीलाई सम्मान गरिएको थियो ।
लामाले तताए दर्शक
खिचरा महोत्सवको पहिलो दिन चर्चित लोकदोहोरी गायक मिलन लामाले दमदार प्रस्तुति दिएका छन् ।
उनले ‘हमार थारु गाउँमा हावा चल्लै सर सर’ लगायत बोलका गीत प्रस्तुत गरेका थिए । महोत्सव अवधिभर विभिन्न कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । माघ ८ गतेसम्म चल्ने महोत्सवमा १५० वटा स्टलहरु रहेका छन् ।