
चितवन- चितवनको गौरव र गरिमामय प्रस्तुतिका रुपमा दसौँ संस्करणको रत्ननगर महोत्सवअन्तर्गत महोत्सवको तेस्रो दिन आइतबार स्वर्गीय जगतकृष्ण प्रजापति स्मृति कला प्रतिष्ठानद्वारा आयोजित विद्यालयस्तरीय नृत्य प्रतियोगिता सुरु भएको छ । पहिलो चरणको प्रतियोगितामा पूर्वी चितवन क्षेत्रका विभिन्न १० विद्यालयका विद्यार्थीहरु सहभागी भएका छन् ।
प्रतियोगिताको दोस्रो तथा अन्तिम चरण माघ २ गते हुने कलाकार व्यवस्थापन समितिका सहसंयोजक राजेन्द्र हमालले जानकारी दिए । पूर्वी चितवनको रत्ननगर नगरपालिकको टिकौलीचौरमा पुस २५ गतेदेखि सुरु भएको १०औँ रत्ननगर महोत्सवमा आइतबार विद्यालयस्तरीय नृत्य प्रतियोगितासहित विविध सांस्कृतिक कार्यक्रमहरु भएका छन् ।
आइतबार स्थानीय दोहोरी गीत प्रतिष्ठानको प्रस्तुतिका साथै डिबी लोप्चन, नेत्रजी पन्त, कृष्ण भट्टराई, सुनिता सुनार, सरिता कँडेललगायतको सांगीतिक प्रस्तुति रहेको थियो । यस्तै, जादुगर बलराम सरकारले आफ्नो कौशलसमेत प्रस्तुत गरेका थिए ।
महोत्सवअन्तर्गत सोमबार हाँस्य कलाकार मनोज गजुरेलको विशेष प्रहसन रहनेछ । गजुरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी जिनपिन वा अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पमध्ये कसको क्यारिकेचर गर्छन् भन्नेचाहिँ खुलाइएको छैन । जसका लागि महोत्सव अवलोकन गर्नैपर्ने आयोजकको भनाइ छ ।
महोत्सवको तेस्रो दिन आइतबार अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रहेको रत्ननगर महोत्सवका मूल संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए । आगामी माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा आकर्षणको रुपमा जीपलाइन र सेल्फी डाँडो रहेका छन् ।
महोत्सव स्थलमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउविजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर राखिएको छ ।
महोत्सवलाई सुरक्षित बनाउनका लागि सिसिटिभी क्यामेराबाट निगरानी गरिनुका साथै पाँच करोड रुपैयाँ बराबरको बीमासमेत गरिएको रेग्मीले बताए । स्वदेशी तथा विदेशीगरि महोत्सवमा ५२१ वटा स्टल रहेको छ भने महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने बताइएको छ । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तथा अशक्त र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको रेग्मीले बताए ।