चितवन । चितवनको खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा आइतबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । स्थानीय तह भएपछि यी दुई नगरपालिकाले दोस्रोपटक प्रतियोगिताको आयोजना गरेका हुन् ।
खैरहनी नगरपालिकाको आयोजनामा खैरहनी माध्यमिक विद्यालयमा आयोजित प्रतियोगिताको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख डल्लाकोटीले खेलकुद राष्ट्रको पहिचान रहेको बताए । खेलकुदले शारीरिक, मानसिक, व्यक्तित्वको विकास हुनुका साथै राष्ट्रको गरिमा बढाउने उनले बताए ।

खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले नगरस्तरमा उत्पादन भएका खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने अवसर पाउने भएकाले त्यसैका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महŒव राख्ने बताए । नगर प्रमुख चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्थानीय शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्याल, खैरहनी ७ का वडाध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक मनेजर चौधरीलगायतले मन्तव्य राखेका थिए ।

पहिलो दिन १ हजार ५०० मिटर दौडको छात्रतर्फ सैनिक आवासीय महाविद्यालयका स्वीकार सुवेदी प्रथम हुँदा डेजी आवासीय माध्यमिक विद्यालयका निशान्त भट्टराई दोस्रो तथा ग्लोसाइन एकेडेमीका निशान पन्तले तृतीय स्थान हासिल गरे ।

सोही दौडमा छात्रातर्फ खैरहनी माध्यमिक विद्यालयकी तिर्सना नेपाल, खैरहनी माविकै आयूषा गिरी र कंकाली माविकी भावना रिजाल क्रमशः प्रथम, द्वितीय र तृतीय भए । भलिबल र कबड्डीका पहिलो चरणका खेलहरु पनि भएका छन् ।

खैरहनीमा ११ वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालयले सहभागिता जनाएका छन् । राप्ती नगरपालिकाको आयोजना बुद्धशान्ति माध्यमिक विद्यालयको चौरमा सुरू भएको प्रतियोगिताको बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले उद्घाटन गरे ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीका खेलहरु हुने नगरपालिकाका स्थानीय शिक्षा अधिकारी शम्भुप्रसाद पौडेलले बताए । राप्ती नगरपालिका प्रमुख प्रभा बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख इमानसिंह लामाले स्वागत मन्तव्य राखेका थिए । राप्तीमा सामुदायिक र संस्थागतगरी कुल १३ विद्यालयको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया