चितवन- लायन्स क्लब अफ रत्ननगर मिड नेपालको सामाजिक उत्तरदायित्व र नियमित मानवीय सेवाको अभियानअन्तर्गत चितवनको विकट मानिने कालिका नगरपालिका १० देउजरस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि न्यानो लुगा वितरण गरिएको छ ।
६५ जना विद्यार्थी अध्ययनरत सो विद्यालयमा क्लबका सहकोषाध्यक्ष लायन सुरेशजंग पाण्डे तथा क्लबका सदस्य लायन देवेन्द्र आचार्यले कार्यक्रमको संयोजन गरेका थिए ।
सो क्लबले गत वर्ष पनि सो विद्यालयका लागि टेलिभिजन सेट, स्टेशनरी, खेलकुदका सामग्री, न्यानो लुगालगायत एकलाख रुपैयाँ बराबरको सामग्री वितरण गरेको थियो ।
विद्यालयमा आगामी कार्यक्रम चैत्र महिनामा गर्ने योजना रहेको क्लबका अध्यक्ष प्रकाश शर्माले जानकारी दिए ।
क्लबका संस्थापक अध्यक्ष सुरेशचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावकलगायतको उपस्थिति रहेको थियो । हरेक वर्ष सो विद्यालयमा केन्द्रित कार्यक्रम गर्दै आइरहेको लायन्स क्लब अफ रत्ननगर मिड नेपालले यसै वर्ष जनजागृति माध्यमिक विद्यालय, पिठुवाको विद्यालय हातामा फूलबारी तथा फुटसलको निर्माण गरिसकेको छ ।
यस्तै, रत्ननगर १ स्थित बकुलहर माध्यमिक विद्यालयमा पनि एक वर्षको लागि स्टेशनरी सामग्री वितरण गर्नुका साथै बैरिया माध्यमिक विद्यालय रत्ननगर १० मा पनि चिल्ड्रेन पार्क निर्माण गर्ने योजना रहेको अध्यक्ष शर्माले जानकारी दिए ।