
चितवन- चितवनको खैरहनीमा जारी ‘सातौँ खिचरा महोत्सव–२०७६’ अन्तर्गत सोमबार दोस्रो दिन चर्चित गायक अर्जुन कौशलले दर्शकलाई झुमाएका छन् ।
खैरहनी–५ गौचरनमा जारी महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत आज चर्चित गायक कौशलले प्रस्तुति दिएका हुन् । उनले थुप्रै चर्चित गीत प्रस्तुत गरेका थिए । यस्तै आज स्थानीय कलाकाहरुको सांस्कृतिक प्रस्तुतिका साथै थारु समुदायको नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
महोत्सवअन्तर्गत मंगलबार चर्चित गायक प्रकाश सपुतको विशेष प्रस्तुति रहेको साँस्कृतिक समितिका संयोजक जयश चौधरीले जानकारी दिए । उनको गलबन्दी च्यातियो, बोल मायालगायतका चर्चित गीतहरु रहेका छन् । यस्तै नेपाल लोकतारामा उत्कृष्ट प्रस्तुति दिएकी चितवनकी चेली मुना अर्यालको समेत प्रस्तुति रहेको उनले जानकारी दिए ।
मंगलबारको सांस्कृतिक कार्यक्रमलाई मिस इन्टरनेसनल नेपाल वर्षा लेखीले सञ्चालन गर्नेछिन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ को आयोजनामा भइरहेको महोत्सव माघ ८ गतेसम्म गौचरनमा चल्ने छ ।
थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा प्रत्येक वर्षदेखि ‘खिचरा महोत्सव’ आयोजना हुँदै आइरहेको छ । महोत्सवले खिचरा पर्वको संरक्षण गर्नमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको महोत्सव मूल आयोजक समितिका संयोजक चूडामणि चौधरीले बताए ।
महोत्सवमा थारुसँगै विभिन्न जातजातिको परम्परागत भेषभूषासहितको साँस्कृतिक कार्यक्रमलाई जोड दिइएको छ । महोत्सवमा यसवर्ष १५० वटा स्टल रहेका छन् । जसमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराईको समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरुसमेत रहने आयोजकले जनाएको छ ।
यस्तै महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, अन्तरविद्यालयस्तरीय चित्रकला, हाजिरीजवाफ प्रतियोगिता, ४० वर्ष माथिका पुरुषको भेट्रान दौड, स्लो साइकल रेस, खिचरा फोटो र सेल्फी फोटो प्रतियोगिता र फेस पेन्ट प्रतियोगिता रहने आयोजकले जनाएको छ ।
यसवर्ष पनि महोत्सवमा प्रवेशका लागि विगतका वर्ष जस्तै ५० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ कायम गरिएको छ । चितवनका थारु समुदायले माघ १ गते खिचरा पर्व मनाउने गरेका छन् । यही अवसरमा विगत सात वर्षदेखि महोत्सव आयोजना हुँदै आइरहेको छ ।
खिचरा डान्स आइडलमा १२ प्रतियोगी छनौट
खैरहनीमा जारी सातौं खिचरा महोत्सव–२०७६ अन्तर्गत भइरहेको ‘खिचरा डान्स आइडल’ मा १२ जना प्रतियोगी तेस्रो चरणमा प्रवेश गरेको छ ।
खिचरा महोत्सवमा आज भएको प्रतिस्पर्धामा ८ जना प्रतियोगीलाई पछि पार्दै १२ जना तेस्रो चरणमा प्रवेश गरेको हो । छनौट हुनेहरुमा रविना श्रेष्ठ, खुसी सुवेदी, एके ४७ ग्रुप, आशिष चौधरी, मञ्जिता आले, जेनिशा प्रजा रहेका छन् । यस्तै मनिका तामाङ, दिपिका चौधरी, स्मृति भण्डारी, सारिका पुन, दर्शना गान्धारी र अभिषेक चौधरी रहेका छन् ।
छनौट भएका १२ जनाबीच प्रतियोगीको माघ २ गते महोत्सवमा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक हरिशरण चौधरीले जानकारी दिए । सो प्रतिस्पर्धाबाट अन्तिम पाँच जना छनौट गरिने छ । माघ ४ गते हुने पाँच जना प्रतिस्पर्धापश्चात् ती प्रतियोगीहरुको भोटिङ सुरु हुनेछ । भोटिङकै आधारमा विजेता छनौट हुने संयोजक चौधरीले बताए ।