
चितवन- चितवनको गरिमामय प्रस्तुतिका रुपमा पुस २५ गतेदेखि जारी रत्ननगर महोत्सवमा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले छुट्टै कृषि परिसर राखिएको छ ।
कृषि प्रवद्र्धन समिति संयोजक ईश्वरीप्रसाद अर्यालका अनुसार महोत्सवभित्र कृषिका लागि छुट्टै परिसर निर्माणगरी त्यहाँ केराखेतीमा थोपा सिँचाई प्रविधि, बायो फ्लक प्रविधिबाट माछापालन, कौशीखेती तरकारी प्रविधि, च्याउखेती प्रविधि, नेट हाउसभित्रको तरकारीखेती प्रविधि राखिएको छ ।
त्यस्तै ड्रागन फ्रुटको डेमोस्टेसन, माछा पोखरीलगायतका कृषिसँग सम्बन्धित विषयवस्तुहरु कृषि परिसरमा राखिएको अर्यालले बताए । त्यहाँ राखिएको प्रविधिको बारेमा जान्न खोज्ने कृषकहरुलाई परामर्शको व्यवस्थासमेत गरिएको अर्यालको भनाइ छ ।
त्यस्तै, महोत्सवअन्तर्गत केरा बगैँचा प्रतियोगितासमेत हुँदैछ । पुस २५ गतेसम्म केरा किसानबाट निवेदन आह्वान गरिसकिएकाले उनीहरुबाट उत्कृष्ट केरा बगान छनौट गरिने अर्यालले जानकारी दिए ।
प्रतियोगिताका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइका प्रमुख मेघनाथ तिमिल्सिनाको संयोकत्वमा रत्ननगर नगरपालिका कृषि शाखाका प्रविण लामा र कृषि ज्ञान केन्द्र चितवनका उमानाथ अर्याल मूल्याङ्कन समितिमा रहेको अर्यालले बताए ।
तीन सदस्यीय मूल्याङ्कन समितिको सिफारिसअनुसार कृषकलाई सम्मान गरिने उनले जानकारी दिए । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै आयात प्रतिस्थापन गर्नका लागि महोत्सवमा कृषि परिसर राखेर नयाँ प्रविधिबारे किसानलाई जानकारी गराइएको महोत्सव मूल संयोजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले बताए ।