
अजित अधिकारी
चितवन- दक्षिण चितवनको माडी नगरपालिका ४ स्थित सिदुवाचोकमा आजदेखि प्रथम माडी खिचरा महोत्सव सुरु भएको छ ।
माडीको पर्यटन प्रवर्द्धनको विकास गराउने उद्देश्यका साथ माडीमा खिचरा महोत्सवको आयोजना गरिएको हो । आज हुने प्रथम माडी खिचरा महोत्सवको उद्घाटन गर्न नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहान ११ बजे आउने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।
माडी नगरपालिकाको आयोजनामा हुन लागेको महोत्सवमा थारु कल्याणकारिणी सभा क्षेत्र नं १ माडी र नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् माडी सहआयोजक रहेका छन् ।
यस्तै, प्रवर्द्धकका रुपमा उद्योग वाणिज्य संघ माडी मुख्य प्रायोजक आईडिया फर नेपाललगायतका संस्थाहरु रहेका छन् । माडी पर्यटकीय संभावनाको रुपमा अग्रस्थानमा रहेको हुँदा माडीका विभिन्न धार्मिक ऐतिहासिक स्थल र यहाँका हेर्न लायक प्राकृतिक दृश्यहरुले समेत पर्यटकहरुको मनलाई नै आकर्षण र मनमोहक गराउने गर्दछ । साथै, माडी कृषि क्षेत्रमा समेत अग्रणी भूमिको रुपमा परिचित छ ।
नेपाल पर्यटन वर्ष सन् २०२० लाई सफल पार्न र माडीमा रहेका धार्मिक ऐतिहासिक स्थलहरुको प्रचार प्रसार र खोजी निर्माण गर्नको लागि र माडीमा रहेका विभिन्न जातजातिहरुको धर्म सस्कृति रीतिरिवाज भेषभूषा रहनसहन प्रतिभा र आआफ्नै परम्परा रहेको हुँदा यसको संरक्षण र सम्वर्द्धन गर्ने हेतु र माडीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माडी नगरपालिकाको कार्ययोजनाअन्तर्गत प्रथम माडी खिचरा महोत्सव आयोजना गरिएको हो ।
महोत्सव परिसरमा झन्डै ६० स्टल र ४८ वटा स्टल बुक भइसकेको स्टल व्यवस्थापन समितिले जनाएको छ ।
माडीको पर्यटन प्रवर्द्धन गर्ने हेतुले माघी पर्वको अवसर पारी आयोजना गरिएको सो महोत्सवमा थारु, बोटे, गुरुङ, दरैलगायतका समुदायहरुको आआफ्नै खानाका परिकार र धर्म संस्कृति रीतिरिवाज र रहनसहन झल्कने झाँकी प्रस्तुत गरिने छ ।
महोत्सवमा विभिन्न कलाकृतिहरुबाट निर्माण गरिएका सामग्रीहरु देख्न सकिनेछ । त्यस्तै माडी क्षेत्रमा रहेका धार्मिक ऐतिहासिक स्थलहरु पाँच पाण्डव, छरछरे, गोदक, सोमेश्वरगढी, विक्रमबाबा, बैकुण्ठधाम, शनि तथा कालिका मन्दिर, रेवा तथा त्रिवेणीधाम, वाल्मीकि आश्रमलगायतका धार्मिक क्षेत्रहरुको अवलोकन गर्नको लागि जिप सफारी गरिने छ ।
महोत्सवमा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सव आजबाट माघ ६ गतेसम्म चल्नेछ ।