चितवन- रत्ननगरको गौरव र गरिमामय प्रस्तुतिका रुपमा जारी रत्ननगर महोत्सवअन्तर्गत टाँडीबजारको सौराहाचोक बसपार्कमा चिकेन एण्ड एग फुड फेस्टिवल सुरु भएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको फेस्टिवलमा प्रमुख अतिथि बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले उद्घाटन गरे ।
मन्त्री लामाले चितवन पोल्ट्री, केरा, मौरी, धान र तरकारी गरी पाँच जोनका रुपमा परिचित रहेको बताउँदै यसको व्यवस्थापन र बजारीकरणमा प्रदेश सरकारको सधैँ साथ रहने उल्लेख गरे ।
उनले चितवन कुखुराको मासु र अण्डाको बजारीकरणको लागि निजीक्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको बताए । सहकारीमन्त्री लामाले कृषि उत्पादनलाई व्यावसायिक बनाउन अनुदानमा एकरुपता ल्याउन लागिएको बताए ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सवका मूल संयोजक राजाराम रेग्मीले पोल्ट्री क्षेत्रको प्रवद्र्धन र बजारीकरणको लागि चिकेन एण्ड एग फेस्टिवल आयोजना गरिएको बताए ।
कार्यक्रममा प्रदेश सांसद्हरु घनश्याम दाहाल, कञ्चन खनाल, जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीलगायतको उपस्थिति रहेको थियो ।
फुड फेस्टिवलका संयोजक तथा महोत्सवका आर्थिक स्टेरिङ कमिटीका संयोजक ज्ञानबहादुर विसुरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघका महासचिव निराजन खनालले चितवन कुखुरा र अण्डामा आत्मनिर्भर भए पनि बजारीकरणका कारण व्यवसायी तथा किसानहरु मर्कामा परेको बताए ।
चिकेन एण्ड एग फेस्टिवलको उद्घाटनअघि विभिन्न सांस्कृतिक शोभायात्रा निकालिएको थियो । कुखुराका मासु र अण्डाको खपत बढाउन र उपभोक्तालाई मासु र अण्डाको परिकारबारे जानकारी गराउन र समग्र पोल्ट्री क्षेत्रको प्रवद्र्धनका लागि फुड फेस्टिवल आयोजना गरिएको महोत्सवका आर्थिक व्यवस्थापन तथा फुड फेस्टिवलका संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिए ।
आगामी माघ ४ गतेसम्म चल्ने सो फेस्टिवलमा कुखुरा तथा मासुका परिकारहरुको प्रदर्शनीसहित विभिन्न परम्परागत खानाका ५० वटा स्टल राखिएका छन् । फेस्टिवलमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।