चितवन- पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा सञ्चालन भइरहेको महोत्सवमा विशेष आकर्षणको रुपमा रहेको सेल्फी डाँडाले दर्शकलाई लोभ्याएको छ ।
१०औँ रत्ननगर महोत्सवको स्टेजअगाडि रहेको सेल्फी डाँडामा फोटो खिचाउनका लागि महोत्सव अवलोकनमा पुगेका अधिकांश दर्शक पुग्ने गरेका छन् ।
रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् महोत्सव परिसर निर्माण समिति संयोजक रघु भट्टले महोत्सव छिरेका ६० प्रतिशत व्यक्तिहरु सेल्फी डाँडामा गएर फोटो खिच्ने गरेको जानकारी दिए ।

चितवनमा आउने पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारीमा देख्न सकिने जनावरहरु महोत्सवको सेल्फी डाँडामा राखिएको भट्टले बताए ।
नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने तथा चितवनको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सेल्फी डाँडा निर्माण गरिएको उल्लेख गर्दै भट्टले त्यहाँ दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघ, चितुवा र जरायोको मूर्ति राखिएको जानकारी दिए ।

यी जनावरहरुको मूर्तिसँगै फोटो खिचाउन आउने व्यक्तिहरु धेरै उत्साही भएर जनावरको बारेमा जानकारी लिने गरेका उनले बताए । अवलोकर्ताहरुको सहजताका लागि सेल्फी डाँडामा राखिएको जनावर र चितवनमा पाइने जनावरको बारेमा जानकारी दिँदै सौराहा र चितवनको समग्र पर्यटनको बारेमा जानकारीसमेत गराइने भट्टले बताए ।

रत्ननगर महोत्सवले आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धन गर्न सहयोग पु¥याउने हेतुले सेल्फी डाँडासहित अन्य पर्यटकीय गतिविधि महोत्सव स्थलभित्र सञ्चालन गरिएको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक राजाराम रेग्मीले बताए । उनका अनुसार महोत्सव स्थलबाटै पञ्चकन्या सामुदायिक वनमा जीफ सफारीका लागि समेत घुम्न जाने व्यवस्था गरिएको छ ।

त्यस्तै पछिल्लो समय पर्यटकहरुको रोजाइमा परेको जीपलाइन सफारी समेत महोत्सव परिसरबाट सञ्चालन गरिएको रेग्मीले बताए । भरतपुरको जलदेवी सामुदायिक वनसँगको सहकार्यमा रत्ननगर महोत्सवमा जीपलाइन सफारी सुरु गरिएको रेग्मीको भनाइ छ ।

कुलेन्द्रले नचाए दर्शक

रत्ननगर महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आज मंगलबार चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक कुलेन्द्र विकले आफ्नो प्रस्तुति राखेका छन् । विकले उनको चर्चित गीत सालको पातको टपरी हुनी…लगायतका गीतहरु गायर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
विकले आधादर्जनभन्दा बढी गीतहरुबाट महोत्सव अवलोकलनका लागि उपस्थित दर्शकलाई मनोरञ्जन दिएका कलाकार व्यवस्थापन समितिका सहसंयोजक राजेन्द्र हमालले जानकारी दिए ।

पूर्वी चितवनको रत्ननगर नगरपालिकको टिकौली चौरमा पुस २५ गतेदेखि शुरु भएको १०औँ रत्ननगर महोत्सवमा आज मंगलबार नेत्रजी पन्त र अन्डरग्राउण्ड डान्स एकेडेमीको प्रस्तुति रहेको हमालले बताए ।

त्यस्तै, महोत्सवको सांस्कृतिक कार्यक्रममा भोलि बुधबार प्रकाश सपुत, विन्दु परियार सहित स्थानीय कलाकारहरुको प्रस्तुति रहने हमालले जानकारी दिए ।

मंगलबार तीन हजार दर्शक

टिकौली चौरमा भइरहेको १०औँ रत्ननगर महोत्सवमा दर्शकको उपस्थिति बढ्ने क्रम जारी छ । मंगलबार मात्रै ३० हजार दर्शकले महोत्सवको अवलोकन गरेका महोत्सवको संयोजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए ।

पुस २५ गतेदेखि सञ्चालन भएको महोत्सवमा पाँचौँ दिनसम्म आइपुग्दा ९० हजार दर्शकले महोत्सव अवलोकन गरेका रेग्मीको भनाइ छ । बुधबार महोत्सव अवलोकनका लागि दर्शकको संख्या अत्यधिक हुने आयोजकले अनुमान गरिएको रेग्मीले बताए ।

बुधबार माघे सङ्क्रान्ति पर्वका साथै प्रकाश सपुतसमेत आउने भएपछि दर्शकको चाप धेरै हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

आगामी माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर राखिएको छ ।

महोत्सवलाई सुरक्षित बनाउनका लागि सिसिटिभी क्यामेराबाट निगरानी गरिनुका साथै पाँच करोड रुपैयाँ बराबरको बीमा समेत गरिएको रेग्मीले बताए ।

स्वदेशी तथा विदेशी गरी महोत्सवमा ५२१ वटा स्टल रहेको छ भने महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने बताइएको छ । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तथा अशक्त र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको रेग्मीले बताए ।

तपाईको प्रतिक्रिया