चितवन- दक्षिण चितवनको माडी नगरपालिका ४ स्थित सिदुवाचोकमा मंगलबारदेखि सुरु भएको प्रथम माडी खिचरा महोत्सवको उद्घाटन गर्दै नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् ।
माडीको पर्यटन प्रवर्द्धनको विकास गराउने उद्देश्यले माडी नगरपालिकाको आयोजना तथा थारु कल्याणकारिणी सभा क्षेत्र नं १ माडी र आदिवासी जनजाति महासंघ नगर समन्वय समिति माडीको सहआयोजना रहेको महोत्सवमा प्रचण्डले माडीलाई मणि बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नै पहलमा विभिन्न परियोजना अघि बढिरहेको बताउँदै आगामी तीन वर्षभित्र माडीलाई मणि बनाएरै छोड्ने दाबी गरे । प्रचण्डले विसं २०२९ मा बनेको निकुञ्ज ऐन परिमार्जन हुने क्रममा रहेको बताएका छन् ।

उनले चितवन राष्ट्रिय निकुञ्ज र जनताबीच द्वन्द्व बढेको तर मौजुदा ऐनले वन्यजन्तुको सुरक्षामा ध्यान दिए पनि मानिसको सुरक्षामा ध्यान नदिएका कारण ऐन संशोधन गर्नुपरेको स्पष्ट गरे ।

उनले आइडिया फर नेपालअन्तर्गत एनआरएन एण्ड पार्टनर्स कम्पनीद्वारा ५० बिघा जमिनमा सञ्चालन गर्न लागिएको फलफूलखेती र रिसोर्टको पनि शिलान्यास गरेका थिए । माघ ६ गतेसम्म चल्ने महोत्सवमा एक सय स्टल रहेका छन् ।

माडीको पर्यटन प्रवर्द्धन गर्ने हेतुले माघी पर्वको अवसर पारी आयोजना गरिएको सो महोत्सवमा थारु, बोटे, गुरुङ, दरैलगायतका समुदायहरुको आआफ्नै खानाका परिकार र धर्म संस्कृति रीतिरिवाज र रहनसहन झल्कने झाँकी प्रस्तुत गरिने छ ।

महोत्सवमा विभिन्न कलाकृतिहरुबाट निर्माण गरिएका सामग्रीहरु देख्न सकिनेछ । त्यस्तै माडी क्षेत्रमा रहेका धार्मिक ऐतिहासिक स्थलहरु पाँच पाण्डव, छरछरे, गोदक, सोमेश्वरगढी, विक्रमबाबा, बैकुण्ठधाम, शनि तथा कालिका मन्दिर, रेवा तथा त्रिवेणीधाम, वाल्मीकि आश्रमलगायतका धार्मिक क्षेत्रहरुको अवलोकन गर्नको लागि जिप सफारी गरिने छ ।

महोत्सवमा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया