काठमाडौँ- नेपाल प्रहरीले गोगंबु नयाँ बसपार्क क्षेत्रबाट यौन क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोगंबु नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाएको ‘स्विप अप्रेसन’मा यौन तथा अनैतिक क्रियाकलाप गर्ने ७३ व्यक्तिलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले गोगंबु नयाँ बसपार्क क्षेत्रमा दिउँसै यौन तथा अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासोका आधारमा छापा मारिएको जानकारी दिए ।
“लागूऔषध दुन्यर्सनी, वेश्यावृत्ति र असामाजिक गतिविधिमा संलग्न रहेकालाई नियन्त्रणमा लिएका छौँ,” उनले भने । पक्राउ पर्नेमा ४३ पुरुष, २५ महिला र पाँच तेस्रोलिंगी रहेका छन् । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।
यसअघि शनिबारमात्रै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले गोगंबु नयाँ बसपार्क क्षेत्रको विकृति तथा विसंगति अन्त्यका लागि थप प्रहरी परिचालन गरिने बताएका थिए ।