चितवन- नेपाल भ्रमण वर्ष २०२० को प्रर्वद्धन गर्ने उद्देश्यले विभिन्न सामाजिक अभियानमा क्रियाशील रोटरी क्लब अफ रत्ननगरले राष्ट्रिय मिनी म्याराथन आयोजना गरेको छ ।
यही माघ ११ गते बिहान ८ बजे राष्ट्रिय व्यक्तित्वहरुको सहभागितामा पूर्वी चितवनको भण्डारादेखि रत्ननगरको होटल स्टार बेन्क्वेटसम्म १५.४ किलोमिटर मिनी म्याराथन आयोजना गरेको हो ।
क्लबका पूर्वअध्यक्ष सुरेन्द्र रेग्मीले मिनी म्याराथनमा राष्ट्रिय धावक, सुरक्षा निकाय सशस्त्र, प्रहरी र सेनाको विभागीय टोली र राष्ट्रिय व्यक्तित्वसहित ३०० जनाको सहभागिता रहने जानकारी दिए ।
क्लबका अध्यक्ष विपिन पोखरेलले मिनी म्याराथनको तयारीअनुरुप सहभागी टोलीबीच क्याम्पिङ भइरहेको बताए ।

रोटरी इमेजको पनि प्रवद्र्धन गर्ने सो प्रतियोगितामा प्रथम हुने धावकलाई ५० हजार रुपैयाँसहित चाँदीको तक्मा र प्रमाणपत्र, द्वितीय हुने धावकलाई २५ हजार रुपैयाँसहित चाँदीको तक्मा र प्रमाणपत्र, तृतीय हुने धावकलाई १५ हजार रुपैयाँसहित चाँदीको तक्मा र प्रमाणपत्र पुरस्कारको व्यवस्था रहेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

मिनी म्याराथनको सहआयोजकका रुपमा रोट्याक्ट क्लब अफ रत्ननगर र इन्ट्याक्ट क्लब अफ स्काइराइडर रहेका छन् ।

अध्यक्ष पोखरेलले सो मिनी म्याराथन एउटा उत्सवमात्रै नभएर नेपाल भ्रमण वर्ष २०२० को लागि सकारात्मक सन्देश प्रवाह गर्नका लागि पनि कोशेढुंगा बन्ने विश्वास व्यक्त गरे ।

रोटरी क्लब अन्तर्राष्ट्रिय सामाजिक संस्था भएकाले मिनी म्याराथनमार्फत् भ्रमण वर्षको सन्देश विश्वसँग जोड्न सहयोगी बन्ने बताए ।

तपाईको प्रतिक्रिया