चितवन- पूर्वी चितवनको कालिका नगरपालिका वडा नं २ स्थित कमलचोकमा दोस्रो ऐतिहासिक बज्रगुरु जप तथा विश्वशान्ति पूजा हुने भएको छ । ढोकुन थार्वालिङ्ग गुम्बाको आयोजनामा हुन लागेको सो पूजा यही माघ ५ गतेबाट हुने भएको छ ।
गुम्बाको भवन निर्माण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालित विश्वशान्ति पूजा यही माघ ११ गतेसम्म सञ्चालन हुने धर्मगुरु लामा पेमा दोर्जे मोक्तानले जानकारी दिए ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा धर्मगुरु मोक्तानले संकलित रकमबाट गुम्बाको तीनतले भवनसहित विभिन्न भौतिक निर्माणका कार्यहरु गर्ने जानकारी दिए । पञ्चवर्षीय योजनाअनुसार गुम्बा निर्माण सम्पन्न गर्न ५ करोड रुपैयाँ खर्च लाग्ने उनले बताए ।

सो गुम्बा निर्माणपश्चात् गुम्बालाई बौद्ध विद्यालयको रुपमा विकास गर्ने र बौद्ध दर्शनको अध्ययन, अध्यापन गराउनेसमेत योजना रहेको उनले बताए । सात दिनसम्म सञ्चालन हुने सो विश्वशान्ति पूजामा चितवनसहित मकवानपुर, सर्लाही, बारा, काठमाडौँबाटसमेत भक्तजनहरुको उपस्थिति रहने छ ।

कार्यक्रम अवधिमा ५० जना लामा गुरुहरुको उपस्थिति रहने छ । सो पूजा कार्यक्रमबाट एक करोड रुपैयाँभन्दा बढी रकम संकलन गर्ने आयोजकले लक्ष्य लिएका छन् ।

विसं २०५८ सालमा स्थापना भएको सो गुम्बाको आफ्नै १० कठ्ठा जमिन रहेको छ । सो पूजा कार्यक्रममा हरेक दिन पूजा, जपका अतिरिक्त बौद्ध धर्म, दर्शन एवम् कर्मकाण्ड, संस्कारसम्बन्धी धर्म प्रवचन हुने गुम्बाका अध्यक्ष कमलकुमार लामाले जानकारी दिए ।

कार्यक्रममा गुम्बाका सचिव युवराज बमजन, कोषाध्यक्ष फूलमान लामा, सदस्य कृष्णकुमार लामालगायतले आफ्ना भनाइ राखेको थिए ।

तपाईको प्रतिक्रिया