चितवन- थारु जातिको महान् पर्व माघी (खिचरा)को अवसरमा पूर्वी चितवनको खैरहनी महोत्सवमय बनेको छ । ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत बुधबार चौथो दिन हालसम्मकै धेरै दर्शकहरु उपस्थित भई उत्साह भरेका छन् ।
माघ १ गते माघी पर्व भएकाले पनि महोत्सवमा दर्शकहरुको निकै भीड लागेको थियो । चर्चित कलाकारहरुको बजोड प्रस्तुतिले दर्शकहरुले भरपूर मनोरञ्जन लिएका थिए । खैरहनी–५ गौचरनमा जारी महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तरगत आज चर्चित थारु गायक मनोज महतोले प्रस्तुति दिएका छन् । उनले आज आफ्नो ‘ओइ पगली’ एल्बम सार्वजनिक गर्दै दर्शकहरुलाई विभिन्न गीतमार्फत दर्शकहरुलाई बेस्मारी झुमाएका थिए ।

यस्तै, सामाजिक सञ्जालबाट भाइरल भएकी बालगायिका कमला घिमिरे, भोजपुरी गायक सुनिल पण्डित, चितवनका युवा लोकदोहोरी गायक जिबी सुनारलगायतले सांगीतिक प्रस्तुति दिएका थिए । यस्तै आज थारु साँस्कृतिक नृत्य, अन्य विभिन्न नृत्यहरु र फेशन शोसमेत गरिएको साँस्कृतिक कार्यक्रम संयोजक जयस चौधरीले जानकारी दिए ।

महोत्सवअन्तरगत बिहीबार चर्चित गायिका तथा मोडेल ज्योति मगरले दर्शक उफार्नेछिन् भने राजन अर्याल र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिले दर्शकको मन लोभ्याउने सांस्कृतिक समितिका संयोजक चौधरीले जानकारी दिए ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ को आयोजनामा भइरहेको महोत्सव माघ ८ गतेसम्म गौचरनमा चल्नेछ । महोत्सवले खिचरा पर्वको संरक्षण गर्नमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको महोत्सव मूल आयोजक समितिका संयोजक चूडामणि चौधरीले बताए ।

महोत्सवमा थारुसंगै विभिन्न जातजातिको परम्परागत भेषभुषा सहितको साँस्कृतिक कार्यक्रमलाई जोड दिइएको छ । महोत्सवमा यसवर्ष १५० वटा स्टल रहेका छन् । जसमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराई को समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरु समेत रहने आयोजकले जनाएको छ ।

यस्तै महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, अन्तर विद्यालयस्तरीय चित्रकला, हाजिरीजवाफ प्रतियोगिता, ४० वर्ष माथिका पुरुषको भेट्रान दौड, स्लो साइकल रेस, खिचरा फोटोरसेल्फी फोटो प्रतियोगिता र फेस पेन्ट प्रतियोगिता रहने आयोजकले जनाएको छ । यसवर्ष पनि महोत्सवमा प्रवेशका लागि विगतका वर्ष जस्तै ५० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ कायम गरिएको छ । चितवनका थारु समुदायले माघ १ गते खिचरा पर्व मनाउने गरेका छन् । यही अवसरमा विगत सात वर्षदेखि महोत्सव आयोजना हुँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया