
ध्रुवराज लामिछाने
चितवन- रत्ननगर २ हाइस्कुलरोडमा डेरा गरी बस्ने ३० वर्षीय विश्वास भुजेल जिब्रोको क्यान्सरबाट पीडित बनेका छन् । उनले जिब्रोको क्यान्सरको अपरेसनका लागि उपचार खर्च जुटाइदिन सबै दाताहरुसँग याचना गरेका छन् ।
बाबुआमाको निधन भई हाल दाजुभाउजूको आश्रयमा रहँदै आएका भुजेलको कुनै चलअचल सम्पत्ति छैन । गरिबीले गाँजे पनि पहिले दैनिक ज्यालादारीमा काम गरेर पेट पाल्दै आएका उनलाई नियतिले काम गरेर पनि खान दिएन । जिब्रोमा क्यान्सरले आक्रमण गरेपछि यतिबेला उनी उपचार खर्चको लागि भौँतारिएका छन् ।
क्यान्सर भएपछि भरतपुरस्थित बीपी मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्दा १ लाख ५० हजार रुपैयाँ खर्च भइसकेको उनले बताए । यसअघि विभिन्न दाताबाट संकलित रकम उपचारमा खर्च भइसकेको र अहिले डाक्टरले सिफारिस गरेको औषधि किन्ने पैसासमेत आफूसँग नभएको उनले नेपाली आवाज डटकमसँग गुनासो पोखे ।
क्यान्सर अस्पतालमा उपचारपश्चात् जुस र मिक्सचरमा पिसेको झोलपदार्थ नाकबाट पाइपको सहायताले खाने गरेका उनलाई डाक्टरले अप्रेसनको लागि २ लाख ७० हजार रुपैयाँ खर्च लाग्ने बताएका छन् । तर, उनीसँग न त औषधि किन्ने पैसा छ, न त अप्रेसन गर्ने रकम । उनी आफ्ना दाजु गोपाल भुजेलको सहायतामा आर्थिक याचना गर्दै भौँतारिएका छन् ।
अविवाहित विश्वासले मनका धनीहरुको सानो प्रयासले आफ्नो उपचार हुने विश्वास लिएका छन् । कुनै दाता महानुभावको सानो सहयोग पनि आफ्नो लागि ठूलो हुने बताउँदै सबैले यथाशक्य सहयोगको हात फैलाएर आफ्नो जीवन बचाइदिन उनले अपिल गरेका छन् ।
यसैबीच, रत्ननगर ३ का वडाध्यक्ष गुप्तनाथ भट्टराईले भुजेलको उपचारका लागि कुनै पनि आर्थिक स्रोत नभएका कारण असहाय बन्न पुगेकोले उनको उपचारार्थ विभिन्न संघसंस्था, कार्यालय, स्कुल, कलेज, उद्योगी व्यापारी र सहयोगी मन भएका सबैले आर्थिक सहयोग गरेर उपकार गरिदिन अनुरोधसहित सिफारिस गरेका छन् ।
पीडित विश्वासका लागि सहयोग गर्न चाहने मनकारीहरुले उनको दाजुको मोबाइल नं ९८१६२-३५१६८ मा सीधा सम्पर्क गरी सहयोगको हात फैलाउन सकिनेछ ।