चितवन- चितवन जिल्ला अदालतले विसं ०७४ साउनमा कालिका नगरपालिका–२, पदमपुरका ४८ वर्षीय बलराम दुलालको हत्याको आरोपमा छोरा, दुई छोरी, ज्वाइँ र श्रीमतीलाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले मृतक बलरामका छोरा अञ्जन दुलाललाई जन्मकैदको सजाय तोकेको छ भने दुई छोरीहरु अञ्जना र अप्सना तथा श्रीमती बेलकुमारी र ज्वाइँ टेकबहादुरलाई जनही दस/दस वर्षको कैद सजायको फैसला भएको हो ।
मृतकका दाजु नन्दप्रसाद दुलालले सम्पत्ति विवादमा परिवारका सबै सदस्य मिलेर हत्या गरेको भन्दै कर्तव्य ज्यानअन्तर्गत किटानी जाहेरी दिएका थिए । मिर्गौला रोगी बलराम छोरीज्वाइँ र छोरासँगै बसेका थिए ।
उनको अस्वाभाविक रुपमा हत्या भएपछि प्रहरीले किटानी जाहेरीका आधारमा बलरामका छोरा र ज्वाइँलाई पक्राउ गरेको थियो । चितवन अदालतमा हत्या आरोपमा परिवारका सबै सदस्यलाई कैद सजायको फैसला भएको यो पहिलोपटक हो ।