पोखरा- विश्वकै होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका २८ वर्षीय खगेन्द्र थापामगरको शुक्रबार पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।
विसं २०६७ साल असोज २८ गते उनले विश्वकै होचा व्यक्तिको रुपमा गिनिज बुक अफ द वर्ल्ड रेकर्डस्मा नाम लेखाउन सफल भएका थिए ।

उनी विश्वकै होचा व्यक्तिको कीर्तिमानी बनाएका चीनका पिङपीङको रेकर्ड तोड्दै विश्वकै होचा व्यक्तिको कीर्तिमान कायम राखेका थिए ।

उनको बिहीबारदेखि स्वास्थ्यमा समस्या आएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । निमोनियाका कारण उनको शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

बागलुङको धुल्लुवासकोटमा जन्मिएका खगेन्द्र १८ वर्षको उमेरमा गिनिज बुक अफ वल्ड रेकर्डमा नाम दर्ज गरेका थिए । उनी २२.४ इन्च उचाइका थिए ।

उनी पोखरास्थित सिर्जनाचोकमा बुवाआमा रुपबहादुर र आमा धनमायासँग बस्दै आएका थिए । जन्मँदाका बखत उनको तौल ६०० ग्राम मात्रको थियो । गिनिज बुकमा नाम लेखाउँदा उनी ५.५ किलोका थिए । उनी ०४९ असोज १८ गते बागलुङमा जन्मिएका हुन् ।

तपाईको प्रतिक्रिया