पोखरा –अन्नपूर्ण बेस क्याम्पको देउराली नजिकै हिमपहिरोका कारण चार कोरियाली पर्यटकसहित सात जना पुरिएको आशंका गरिएको छ ।हराउनेहरुमा दक्षिण कोरियाका लि मिन सु, किन किम सोता ले, जयोन पिल बोङ, चा हा यो ओन ले गरी चार जना, एक चिनियाँ ज्याङ इङ र नेपाली पथ पदर्शक २१ वर्षीय सरोज परियार, २२ वर्षीय जगदीश खत्री रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक एसपी दानबहादुर कार्कीले अन्नपूर्ण गाउँपालिकाको वडा नं ११ मा पर्ने अन्नपूर्ण बेस क्याम्पमा हिमपहिरोका कारण एक जना पुरिएको सूचना प्राप्त भए पनि सात जना पुरिएको विषयमा पुष्टि हुन नसकेको बताए ।

उनले हिमपहिरो गएको सत्य भए पनि त्यसमा कति जना परे भन्ने विषयमा यकिन विवरण आइनसकेको बताए । सो बेस क्याम्प नजिकै प्रहरी चौकी भए पनि बेस क्याम्पसम्म हिँडेर पुग्ने दुई दिन लाग्ने कारण घटनाको वास्तविक विवरण प्राप्त हुन नसकेको प्रहरीको भनाइ छ ।

बिहीबारदेखि नै देशभर मौसम खराबीका कारण हेलिकप्टरमार्फत पनि घटनास्थल जान नसकिएको एसपी कार्कीले बताए । उनका अनुसार बेस क्याम्प क्षेत्रमा अलपत्र परेका पाँच जना पदयात्रीको भने उद्धार गरिएको छ ।

तपाईको प्रतिक्रिया