गैँडाकोट- देशले पर्यटन वर्ष २०२० मनाइरहेका बेला देशकै मध्यभागमा अवस्थित नवलपरासीको गैँडाकोटमा सुविधासम्पन्न होटल सञ्चालनमा आउने भएको छ । पर्यटन वर्षलाई लक्षित गर्दै ‘होटल द नारायणी प्रालि’ ले आफ्नो सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
चितवन र नवलपरासीका ६ जना पर्यटन व्यवसायीहरु मिलेर गठन गरिएको नारायणी बिजनेस ग्रुपको व्यवस्थापनमा स्थापना भएको हो होटलको यही माघ ८ गते विशेष कार्यक्रमबीच गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले उद्घाटन गर्ने होटलले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । २०७५ वैशाख ३१ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई निर्माण सुरु गरिएको यस होटलको लगानी झण्डै सात करोड रुपैयाँ रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । २०७४ मंसिर १ गते गैँडाकोटको नारायणी नदी किनारमा द नारायणी रिसोर्ट सञ्चालनमा ल्याएसँगै गठित नारायणी विजनेस ग्रुपको होटल द नारायणी दोस्रो व्यावसायिक प्रतिष्ठान हो । द नारायणी रिसोर्टको उत्साहजनक सफलतासँगै रिसोर्टकै भगिनी संस्थाका रुपमा होटल द नारायणी जन्मिएको अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिए । होटल द नारायणी प्रालिमा ध्वनि प्रदूषणरहित ६ वटा बैठक तथा सभा हल, पार्टी हल, मनोरम वाटर फाउन्टेन, नेपाली तथा थकाली खानाका विभिन्न स्वादिष्ट परिकारसहितको रेस्टुरेन्ट एण्ड बार, सुविध सम्पन्न सुपर डिलक्स रुमहरुको सुविधा रहेको अर्का सञ्चालक बसन्त पराजुलीले जानकारी दिए । पर्याप्त पार्किङ, ध्वनीमैत्री हलहरु, स्वादिष्ट खानाका परिकार र उत्कृष्ट ब्यवस्थापनका कारण होटल द नारायणी प्रालि नवलपरासी तथा चितवन यस भेगमा विााह, व्रतबन्धजस्ता सामाजिक कार्य, सभा गोष्ठी, तालिम तथा कार्यक्रमका लागि पनि पहिलो रोजाइ हुने विश्वास सञ्चालकहरुले लिएका छन् ।काठमाडौँ, सौराहा र पोखरादेखि लुम्बिनी आवतजावत गर्ने पर्यटकहरुलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याएको सञ्चालक पराजुलीले जानकारी दिए ।
सौराहा, देवघाट, मौलाकालिका मन्दिर, साश्वत धाम, नारायणी नदीको रमणीय क्षेत्रजस्ता पर्यटकीय गन्तव्यको बीचमा रहेकाले पनि होटल पर्यटकका लागि पायक पर्ने स्थानमा रहेको पनि उनले बताए । पूर्व–पश्चिम राजमागसँगै जोडिएकाले पनि राजमार्गमा यात्रा गर्ने पर्यटकका लागि पनि सहज पहुँच पुग्ने बताइएको छ ।
सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने महत्वाकांक्षी योजना लिइरहेका बेला चितवनमा ४ लाख र नवलपरासीमा १ लाख ५० हजार पर्यटक भित्र्याउने योजना छ । सरकारले अघि सारेका योजनाहरु पूरा गर्न देशभित्रै धेरै सुविधासम्पन्न होटलहरु थप आवश्यक पर्ने कुरालाई मध्यनजर गर्दै सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको होटलका प्रवन्ध निर्देशक ज्ञानप्रसाद न्यौपानेले जानकारी दिए ।