हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो समय संघीयतामाथि प्रहार भइरहेको बताउँदै प्रदेश सरकारको अस्तित्व नै खतरामा परेको उल्लेख गरेका छन् ।
संघीय संंसद्को प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबारबाट सुरू भएको “विकास र समृद्धिमा अन्तर तह समन्वय” विषयक दुईदिने अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पौडेलले संघीयता नै धरापमा रहेको अभिव्यक्ति दिएका हुन् ।

उनले भने, “संविधानले दिएको अधिकारलाई नै पालना गर्न नसक्ने अवस्थामा प्रदेश सरकार छ, काम गर्न सकेको छैन ।”

सामाजिक विकास कार्यालय जिल्ला–जिल्लामा लैजाने तयारी र वन क्षेत्रमा समेत संघ सरकारका एकात्मक शैलीप्रति आक्रोश व्यक्त गर्दै उनले भने, “यस्तो पाराले कसरी प्रदेश सरकार अघि बढ्न सक्छ?, केही काम गर्न खोज्दा माथिबाट घाँटी नै समात्ने काम हुन्छ, अनि यो पाराले कसरी समृद्धि हासिल हुन्छ?”

मुख्यमन्त्री पौडेलले कामको वर्गीकरण नहुँदासमेत प्रदेश सरकारले सोचेअनुसारको क्रियाकलाप गर्न नसकेको बताए । प्रदेशले केकस्तो काम गर्ने भन्नेबारे अझै पनि अन्योलता रहेको भन्दै अन्योलता नचिरेसम्म परिवर्तन सम्भव नभएको उनले बताए ।

कार्यक्रम संघीय संसद्को प्रतिनिधिसभा विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया