चितवन- नेपाल भ्रमण वर्ष २०२० लाई प्रर्वद्धन गर्ने उद्देश्यले राष्ट्रिय मिनी म्याराथन प्रतियोगिता २०२० आयोजना हुने भएको छ । रोटरी क्लब अफ रत्ननगरले यही माघ ११ गते सो प्रतियोगिता गर्न लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विपीन पोख्रेलले राप्ती नगरपालिकाको भण्डारादेखि सुरु भई रत्ननगरको स्टार बैङ्क्युट होटलमा आएर सम्पन्न हुने जानकारी दिए । मिनी म्याराथोन १५ किलोमिटर दूरीको रहनेछ ।
विभागीय समूह नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित तीनसयभन्दा धावकको सहभागिता रहने छ । म्याराथनमा सहभागिता जनाउनका लागि रत्ननगरमा रहेको होटल स्टार बैङ्क्युटमा रहेको सचिवालयमा नाम दर्ता गराउन सकिनेछ ।
सहभागिता जनाउनका लागि धावकहरुले अनलाइनमार्फत समेत नाम दर्ता गर्न सक्नेछन् । नाम दर्ता गर्नका लागि माघ ८ गतेसम्मको समय तोकिएको उनले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले रु १५ हजार नगदसहित चाँदीको मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिता पूरा गर्ने महिला धावकलाई नगद रु पाँच हजारले सम्मान गरिनेछ । प्रतियोगिताको रोटरी ३२९२ का गभर्नर किरणलाल श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
रोटरी क्लब अफ रत्ननगरले यसअघि रोटरी पुस्तकालय, शहीद स्मृति पुस्तकालय, लटौली खाजा तथा लघुवित्त कार्यक्रमको सञ्चालन, रोटरी सार्वजनिक शौचालय निर्माण, बृहत् रक्तदान कार्यक्रमजस्ता थुप्रै सामाजिक काम गर्दै आएको छ ।
भ्रमण वर्षलाई लक्षित गर्दै क्लबले सौराहामा रोटरी घन्टाघरको निर्माणको कामसमेत सुरु गरेको क्लबका निवर्तमान अध्यक्ष जनक पौडेलले जानकारी दिए ।