चितवन- चितवनको नारायणी नदी किनारमा यही माघ ११ देखि एक महिनासम्म सञ्चालन हुने कोटिहोम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञस्थलमा नौतले यज्ञ मण्डपसमेत निर्माण भइसकेको महायज्ञका मूल वाचक बालयोगेश्वर महाराजश्रीले बताए ।
करिब तीन कठ्ठा क्षेत्रफलमा फैलिएको सो मण्डमा एकैसाथ तीन हजारभन्दा बढीले कथा श्रवण गर्न सक्ने महाराजश्रीको भनाइ छ । यज्ञ मण्डप निर्माणसँगै भण्डारलगाउने स्थलसमेत निर्माणको अन्तिम चरणमा पुगेको महाराजश्री जानकारी दिए ।

महायज्ञलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि यसअघि नै दुई हजार १०० सदस्यीय मूल आयोजक समिति विस्तार गरिसकिएको छ ।
महायज्ञका लागि १०८ पण्डितहरु समेत आउने क्रम सुरू भएको महायज्ञका संकल्पकर्ता धर्मपाल गुरु वशिष्ठले जानकारी दिए ।

उनका अनुसार १०८ तीर्थस्थलको जल लिन भ्रमणमा गएको टोलीसमेत जल लिएर फर्किंदैछन् । नेपालमै पहिलोपटक नारायणगढको नारायणी नदी किनारमा १०८ कुण्डीय कोटिहोम गर्न लागिएको हो ।

महायज्ञको प्रचारप्रसारका लागि स्वयंसेवक परिचालनदेखि मोटरसाइकल र्‍यालीसमेत गरिएको महायज्ञका मूल समिति महासचिव एवम् प्रवक्ता दिलीप न्यौपानेले बताए ।

महायज्ञमा दैनिक पाँच हजारभन्दा बढी श्रद्धालुहरु आउने अपेक्षासहित तयारीको काम अगाडि बढाइएको न्यौपानेले जानकारी दिए ।

महायज्ञमा आउने श्रद्धालुका लागि खाना तथा नास्ताका साथै दैनिक एक हजार जनालाई बासको समेत व्यवस्था गर्नेगरी काम अगाडि बढाइएको न्यौपानेको भनाइ छ ।

तपाईको प्रतिक्रिया