अजित अधिकारी
चितवन- दक्षिण चितवनको माडी नगरपालिका ४ स्थित सिदुवाचोकमा माघ २९ गतेदेखि प्रथम माडी खिचरा महोत्सव सुरु भएको हो ।
माडीको पर्यटन प्रवर्द्धनको विकास गराउने उद्देश्यका साथ माडीमा खिचरा महोत्सवको आयोजना गरिएको हो । आइतबार भएको प्रथम माडी खिचरा महोत्सवमा राष्ट्रिय कलाकार मिलन लामा, चक्र बम र टीका सानुको प्रस्तुति रहेको थियो ।कलाकार मिलन लामाको थारु गीत हमार से गाउँमा हावा चल्यो सरसर, घरमा परालजस्ता लोकप्रिय गीतहरु त्यस्तै कलाकार चक्र बमको थारु जातिका गीतहरु यो पहाडिया बिग्रियो जाँडको झोलले जस्ता अन्य लोकप्रिय गीतहरु प्रस्तुत गरिएको थियो ।सो कार्यक्रममा चर्चित लोकगायिका टीका सानुले आफ्ना चर्चित लोकप्रिय गितहरु प्रस्तुत गरेकी थिइन् भने उक्त सो कार्यक्रममा कलाकार मिलन लामा र गायिका टीका सानुको सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको भन्ने गीतको बोलमा दोहोरी प्रस्तुत गरिएको थियो ।कार्यक्रममा स्थानीय कलाकारहरुको नृत्य प्रस्तुत गरिनुका साथै थारु जातिहरुको देउडा लाठी नाच एवं नृत्य प्रस्तुत गरिएको थियो । महोत्सवको आज पाँचौ दिन रहेता पनि केहिदिन अगाडि मौसममा आएको खराबीका कारण परेको पानीले गर्दा दुई दिनका लागि महोत्सव स्थगित गरिएको थियो ।माघ ६ गतेसम्म चल्ने भनेको महोत्सव दुई दिन म्याद थप गरी माघ ८ गते सम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवमा आज सोमबार आउने कलाकारहरुमा प्रदिप त्रिपाठी, सीमा सारु मगर, सोमति थारु, लगाएतका राष्ट्रिय तथा स्थानीय कलाकारहरु बिहान ११ बजे आउने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । माडी नगरपालिकाको आयोजनामा भएको महोत्सवमा थारु कल्याणकारिणी सभा क्षेत्र नं १ माडी र नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् माडी सहआयोजक रहेका छन् ।
यस्तै, प्रवर्द्धकका रुपमा उद्योग वाणिज्य संघ माडी मुख्य प्रायोजक आईडिया फर नेपाललगायतका संस्थाहरु रहेका छन् । माडी पर्यटकीय संभावनाको रुपमा अग्रस्थानमा रहेको हुँदा माडीका विभिन्न धार्मिक ऐतिहासिक स्थल र यहाँका हेर्न लायक प्राकृतिक दृश्यहरुले समेत पर्यटकहरुको मनलाई नै आकर्षण र मनमोहक गराउने गर्दछ । साथै, माडी कृषि क्षेत्रमा समेत अग्रणी भूमिको रुपमा परिचित छ ।
नेपाल पर्यटन वर्ष सन् २०२० लाई सफल पार्न र माडीमा रहेका धार्मिक ऐतिहासिक स्थलहरुको प्रचार प्रसार र खोजी निर्माण गर्नको लागि र माडीमा रहेका विभिन्न जातजातिहरुको धर्म सस्कृति रीतिरिवाज भेषभूषा रहनसहन प्रतिभा र आआफ्नै परम्परा रहेको हुँदा यसको संरक्षण र सम्वर्द्धन गर्ने हेतु र माडीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माडी नगरपालिकाको कार्ययोजनाअन्तर्गत प्रथम माडी खिचरा महोत्सव आयोजना गरिएको हो ।
महोत्सव परिसरमा झन्डै १०० वटा स्टल रहेको समितिले जनाएको छ । माडीको पर्यटन प्रवर्द्धन गर्ने हेतुले माघी पर्वको अवसर पारी आयोजना गरिएको सो महोत्सवमा थारु, बोटे, गुरुङ, दरैलगायतका समुदायहरुको आआफ्नै खानाका परिकार र धर्म संस्कृति रीतिरिवाज र रहनसहन झल्कने झाँकी प्रस्तुत गरिने छ ।
महोत्सवमा विभिन्न कलाकृतिहरुबाट निर्माण गरिएका सामग्रीहरु देख्न सकिनेछ । सेल्फी खिच्नको लागि पर्यटकहरुको लागि महोत्सव स्थलमा ठुलो माछा को आकृति, पाते बाघको तस्बिर, त्यस्तै थारु जातिहरुको पुरानो माटोबाट बनाइएको घर, एबम खानाको परिकारको रुपमा रहेको किचरको तस्बिर र पोखरीमा पानीको छहरा अटुट रुपमा बहने गरि निर्माण गरिएको छ । जुन दृश्यहरुले पर्यटकहरुलाइ मनमोहक र आकर्षण गराउने गर्दछ ।
माडी क्षेत्रमा रहेका धार्मिक ऐतिहासिक स्थलहरु पाँच पाण्डव, छरछरे, गोदक, सोमेश्वरगढी, विक्रमबाबा, बैकुण्ठधाम, शनि तथा कालिका मन्दिर, रेवा तथा त्रिवेणीधाम, वाल्मीकि आश्रमलगायतका धार्मिक क्षेत्रहरुको अवलोकन गर्नको लागि जिप सफारी गरिने छ ।
महोत्सवमा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
माघ ८ गतेसम्म चल्ने सो महोत्सवको कार्यक्रम प्रस्तोताको रुपमा गायक शिशिर तिमिल्सिना रहेका छन ।