काठमाडौँ- उपसभामुख डा शिवमाया तुम्वाहाम्फेले सभामुखको उम्मेदवारको टुंगो लागेसँगै आफूले पदबाट राजीनामा दिएको बताएकी छन् ।
प्रतिनिधिसभाको बैठकमार्फत उपसभामुखबाट राजीनामा घोषणा गरेलगत्तै संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर उनले संविधानले संसद्लाई नेतृत्वविहीन हुने कल्पना नगरेकाले सभामुखको उम्मेदवारको टुंगो लाग्नेबित्तिकै आफूले राजीनामा गरेको बताइन् ।
उनले आफू दलको नभई संसद्को उपसभामुख भएकाले नेकपाले राजीनामा गर्न दिएको निर्देशन मान्न नसकेको प्रस्टीकरण दिइन् । “संसदीय मर्यादालाई ख्याल गरी मैले मार्गप्रशस्त गर्न राजीनामा गरेको हुँ”, तुम्वाहाम्फेले भनिन् ।
उपसभामुखबाट राजीनामा गरेसँगै ट्र्याक परिवर्तन भएको उनको भनाइ थियो । उनले आफ्नो दुईवर्षे कार्यकालमा संविधान र कानूनबमोजिम कर्तव्य निर्वाह गरेको जिकिर गरे ।

असोज १४ गतेपछि सभामुख पद रिक्त रहेको असहज परिस्थितिमा संविधानले दिएको अधिकारअनुसार आफूले प्रतिनिधिसभाको नेतृत्व गरेको उनले स्पष्ट पारे । “उपभामुखबाट राजीनामा गर्दा म अत्यन्त खुशी छु, राजीनामासँगै मेरो प्रगतिका लागि थप उत्साह मिलेको छ”, उनले भनिन् ।

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्यवहार गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा गरेका थिए ।

गत असोज दोस्रो सातादेखि प्रतिनिधिसभा सभामुखविहीन छ । आइतबार नेकपाको सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया