काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको यही माघ ९ गते हुने निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रको विकल्पमा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रका आधारमा पनि मतदान गर्नसक्ने व्यवस्था मिलाएको छ ।
प्रदेशसभा सदस्य वा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखको प्रमाणको यकिन गर्न निर्वाचित भएको प्रमाणपत्र र यसअघिका निर्वाचनमा प्रयोग भएको मतदाता परिचयपत्र लिएर मतदानका लागि आउन आयोगले मतदातालाई सुचित गरेको छ ।
आयोगका सहसचिव राजकुमार श्रेष्ठद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “प्रमाणपत्र हराए वा नष्ट भएमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य परिचयपत्रका आधारमा निर्वाचन मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ एकिन गरी मतदान गर्न पाउने व्यवस्था हुनेछ ।”

आयोगले त्यसका लागि आवश्यक व्यवस्थापन मिलाउन निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । उक्त निर्वाचनका सन्दर्भमा आज राति १२ः०० बजेबाट मौनअवधि शुरु हुँदैछ ।

उक्त निर्वाचनबाट ५९ सदस्यीय स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभामा १८ नयाँ सदस्यको चयन हुनेछ । उन्नाइस सदस्यको आगामी फागुन २० गते दुई वर्षे कार्यकाल पूरा हुँदैछ ।

उनीहरुको कार्यकाल पूरा हुनु ३५ दिन अघि नै नयाँ सदस्यका लागि निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ । रिक्त हुने एकजना सदस्यको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया