
-हृदयेन्द्र अनुरागी
हेटौँडा– मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका आठ जना भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला र चार पुरुष रहेका छन् । रिसोर्टको १०१ नम्बर कोठामा मंगलबार बिहान बेहोस आठ जना अवस्थामा भेटिएपछि रिसोर्टका कर्मचारीहरुले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए ।
आठै जना बेहोस अवस्थामा फेला परेको जानकारी पाउनासाथ मंगलबार बिहानै उद्धारगरी कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौँको ह्याम्स अस्पताल पठाइएको पालुङका प्रहरी निरीक्षक विकास तामाङले नेपालीको आवाजलाई जानकारी दिए ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार सोमबार राति सो रिसोर्टमा रहेका १५ जनामध्ये अत्यधिक चिसोका कारण आठ जना एउटै कोठामा हिटर बालेर सुतेका थिए ।
नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीका अनुसार ती पर्यटकहरु भारतको केरला राज्यबाट नेपाल घुम्न आएका हुन् ।
उनीहरुको मृत्युको कारण कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण अक्सिजन अभावले निसास्सिएर मृत्यु भएको हो ।
भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्राको मृत्यु भएको हो । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्ट मार्टम भएको हो ।
सरकारले भ्रमण वर्ष २०२० मनाइरहँदा पर्यटकको मृत्यु हुनुलाई पर्यटन व्यवसायीहरुले दुर्भाग्यका रुपमा लिएका छन् ।