चितवन- समग्र चितवनको गौरव र गरिमायम प्रस्तुति भन्ने नाराका साथ सञ्चालन भइरहेको दशौँ रत्ननगर महोत्सव २०७६ मा दर्शकहरुको उपस्थिति उल्लेख्य रहेको छ ।
मंगलबार बाह्रौँ दिनसम्म आइपुग्दा महोत्सव अवलोकन गर्ने दर्शकको सङ्ख्या तीन लाख ५० हजार नाघेको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल संयोजक राजाराम रेग्मीले बताए ।
मंगलबार मात्रै ५० हजार दर्शकले महोत्सवको अवलोकन गरेका रेग्मीको भनाइ छ । बुधबार महोत्सवमा आकर्षणको रुपमा लोक तथा दोहोरी गायक रामजी खाँणको प्रस्तुति रहने उल्लेख गर्दै अध्यक्ष रेग्मीले बुधबार महोत्सव अवलोकन गर्ने दर्शकको सङ्ख्या अझै बढ्ने बताए ।

दर्शकहरुको माग र स्टल प्रदर्शकको चाहनाअनुसार महोत्सवलाई माघ ९ गतेसम्म सञ्चालन गरिदैछ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउने उद्देश्यले महोत्सव स्थलमा विभिन्न पर्यटकीय गतिविधि \समेत सञ्चालन गरिएको महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले बताए । सो महोत्सवअन्तर्गत राखिएको जीपलाइन सफारी र सेल्फी डाँडाले दर्शकको मन तानेको खनालको भनाइ छ ।

महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनी गरिएको रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए ।

महोत्सवमा विभिन्न व्यावसायिक तथा माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसरसहित ५२१ वटा स्टल राखिएको श्रेष्ठको भनाइ छ ।

तपाईको प्रतिक्रिया