अजित अधिकारी
चितवन- दक्षिण चितवनको माडी नगरपालिका ४ स्थित सिदुवाचोकमा पौष २९ गतेदेखि सुरु भएको प्रथम माडी खिचरा महोत्सवको समापन आज बुधबार जिल्ला समन्वय समिति चितवन प्रमुख कृष्ण कुमार डल्लाकोटीले गर्ने भएका छन् । यसअगाडि महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।
माडीको पर्यटन प्रवर्द्धनको विकास गराउने उद्देश्यका साथ माडीमा खिचरा महोत्सवको आयोजना गरिएको हो । आज बुधबार हुने प्रथम माडी खिचरा महोत्सवको अन्तिम दिन राष्ट्रिय लोकगायक जिबी सुनार चर्चित थारु गायिका अनु चौधरीलगायतका राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको बेजोड प्रस्तुति रहने प्रथम माडी खिचरा महोत्सव मुल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले नेपालीको आवाज डटकमलाइ जानकारी दिए ।
महोत्सवमा मंगलबार गायक मनोज महतो, प्रदीप त्रिपाठी र अन्य स्थानीय कलाकारहरुले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको नृत्य प्रस्तुत गरिनुका साथै थारु जातिहरुको देउडा लाठी नाच एवं नृत्य प्रस्तुत गरिएको थियो ।
महोत्सवको माघ ६ गते समापन गर्ने भनिए पनि मौसममा आएको खराबीका कारण परेको पानीले गर्दा दुई दिनका लागि महोत्सव स्थगित गरिएको थियो ।

माघ ६ गतेसम्म चल्ने भनेको महोत्सव दुई दिन म्याद थप गरी आज माघ ८ गते महोत्सव समापन गर्न लागिएको आयोजकले जनाएको छ ।
माडी नगरपालिकाको आयोजनामा भएको महोत्सवमा थारु कल्याणकारिणी सभा क्षेत्र नं १ माडी र नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् माडी सहआयोजक रहेका छन् ।

यस्तै, प्रवर्द्धकका रुपमा उद्योग वाणिज्य संघ माडी मुख्य प्रायोजक आईडिया फर नेपाललगायतका संस्थाहरु रहेका छन् । माडी पर्यटकीय संभावनाको रुपमा अग्रस्थानमा रहेको हुँदा माडीका विभिन्न धार्मिक ऐतिहासिक स्थल र यहाँका हेर्न लायक प्राकृतिक दृश्यहरुले समेत पर्यटकहरुको मनलाई नै आकर्षण र मनमोहक गराउने गर्दछ ।

साथै, माडी कृषि क्षेत्रमा समेत अग्रणी भूमिको रुपमा परिचित छ । नेपाल पर्यटन वर्ष सन् २०२० लाई सफल पार्न र माडीमा रहेका धार्मिक ऐतिहासिक स्थलहरुको प्रचार प्रसार र खोजी निर्माण गर्नको लागि र माडीमा रहेका विभिन्न जातजातिहरुको धर्म सस्कृति रीतिरिवाज भेषभूषा रहनसहन प्रतिभा र आआफ्नै परम्परा रहेको हुँदा यसको संरक्षण र सम्वर्द्धन गर्ने हेतु र माडीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माडी नगरपालिकाको कार्ययोजनाअन्तर्गत प्रथम माडी खिचरा महोत्सव आयोजना गरिएको हो ।

महोत्सव परिसरमा झन्डै १०० वटा स्टल रहेको समितिले जनाएको छ । माडीको पर्यटन प्रवर्द्धन गर्ने हेतुले माघी पर्वको अवसर पारी आयोजना गरिएको सो महोत्सवमा थारु, बोटे, गुरुङ, दरैलगायतका समुदायहरुको आआफ्नै खानाका परिकार र धर्म संस्कृति रीतिरिवाज र रहनसहन झल्कने झाँकी प्रस्तुत गरिने छ ।

महोत्सवमा विभिन्न कलाकृतिहरुबाट निर्माण गरिएका सामग्रीहरु देख्न सकिनेछ । सेल्फी खिच्नको लागि पर्यटकहरुको लागि महोत्सव स्थलमा ठूलो माछा को आकृति, पाते बाघको तस्बिर, त्यस्तै थारु जातिहरुको पुरानो माटोबाट बनाइएको घर, एबम खानाको परिकारको रुपमा रहेको किचरको तस्बिर र पोखरीमा पानीको छहरा अटुट रुपमा बहने गरि निर्माण गरिएको छ । जुन दृश्यहरुले पर्यटकहरुलाइ मनमोहक र आकर्षण गराउने गर्दछ ।

माडी क्षेत्रमा रहेका धार्मिक ऐतिहासिक स्थलहरु पाँच पाण्डव, छरछरे, गोदक, सोमेश्वरगढी, विक्रमबाबा, बैकुण्ठधाम, शनि तथा कालिका मन्दिर, रेवा तथा त्रिवेणीधाम, वाल्मीकि आश्रमलगायतका धार्मिक क्षेत्रहरुको अवलोकन गर्नको लागि जिप सफारी गरिने छ ।

महोत्सवको आज अन्तिम दिन राष्ट्रिय ख्यातिप्राप्त तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहनुका साथै नृत्य प्रतियोगितामा बिजयी हुने बिजेता र कृषि उपज प्रदर्शनी मेलाका बिजेता कृषकहरुलाई सम्मान समेत गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया