चितवन- प्रहरी प्रमुख छान्न सकस बढेसँगै चितवन प्रहरी कार्यालय प्रमुखविहीन बनेको तीन साता पुग्न लागेको छ ।
प्रहरी प्रधान कार्यालयले पुस ४ गते चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लको सरुवा गराएसँगै चितवन प्रहरी प्रमुखविहीन बनेको हो ।
प्रहरी प्रधान कार्यालयले सरुवा निकालेका २४ मध्ये अधिकांश जिल्लाका एसपीले एक हप्ताभित्रै आआफ्नो काम सम्हालीसकेका छन् ।
चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि १४ दिनमा जिल्ला छाडे तर चितवनमा भने अहिलेसम्म नयाँ एसपी पठाइएको छैन ।

चितवनमा सरुवा गरिएकी एसपी गंगा पन्तको विवादित फेसबुक कमेन्टको कारण उनलाई पठाउन प्रहरी प्रधान कार्यालय अनिच्छुक देखिएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासम्बन्धी स्टाटसमा उनले फेसबुकमा ‘रिप’ लेखेपछि आलोचना भएको थियो । यद्यपि, उनले भूलवश कमेन्ट भएको बताउँदै आएकी छन् ।

यसैबीच, चितवनमा किन प्रहरी प्रमुखविहीन बनाइएको भन्ने प्रश्नमा प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापा क्षेत्री भने यो प्रहरी प्रधान कार्यालयले निर्णय गर्ने भएकाले केही दिनमै यो विषयमा निर्णय हुने जानकारी दिए ।

उनले सही समयमा सही निर्णय गर्ने भन्दै चितवनमा प्रहरी प्रमुख तत्कालै नपठाउने संकेत गरे । यसरी जिल्लामा लामो समय प्रहरी प्रमुखविहीन बन्दा प्रहरीका दैनिक काम कार्बाहीहरुसमेत प्रभावित बनेको एक प्रहरीले बताए ।

प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाकै कमाण्डमा जिल्ला चलिरहेको छ । जब कि विगतमा एउटा एसपीको अलवा दुई जना डीएसपीहरु हुने गर्दथे चितवनमा । तर, अहिले एउटै डिएसपीको भरमा चलिरहेको छ चितवनको प्रहरी प्रशासन ।

जानकारहरुका अनुसार सकेसम्म गंगा पन्तलाई नै झुकाएर चितवन पठाउने उनी झुक्न नमाने अर्को एसपी पठाउने तयारीसमेत भइरहेको बुझिएको छ ।

प्रचण्डसँग भेटी माफी मागेमा जिल्लामा अझै एसपी गंगा पन्त नै आउने सम्भावना रहेको श्रोतको दाबी छ । जे होस् राजनीतिक खेलको झेलमा प्रहरी प्रमुखविहीन बनाइरहनु पक्कै पनि बुद्धिमानी कार्य होइन । यसमा प्रहरी प्रधान कार्यालय र गृह प्रशासन गम्भीर बन्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया