चितवन- रत्ननगर नगरपालिकाको टिकौली चौरमा जारी दसौँ रत्ननगर महोत्सवको बुधबारसम्म करिब चार लाख दर्शकले अवलोकन गरेका छन् । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ गतेदेखि शुरु भएको महोत्सवमा तीन लाख ९० हजार दर्शकले अवलोकन गरेका रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल संयोजक राजाराम रेग्मीले बताए ।

तेह्रौँ दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकको उपस्थिति उत्साहजनक पाइएको रेग्मीको भनाइ छ । स्थानीय उत्पादनको प्रवद्र्धन र नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउने उद्देश्यले यस पटकको रत्ननगर महोत्सवमा सेल्फी डाँडा निर्माण गरिएको थियो । महोत्सवको समापन माघ ९ गते बिहीबार गरिने रेग्मीले जानकारी दिए ।

यसैबीच, चितवनमा बढ्दो रगतको मागलाई मध्यनजर गर्दै महोत्सव स्थलमा नै खुला रक्तदान कार्यक्रम गरिएको रेग्मीले बताए । जाडोमा रगतको माग बढे पनि आपूर्ति कम हुने गरेको अवस्थामा आफूहरुले सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम गरिएको रेग्मीको भनाइ थियो । बुधबार महोत्सव स्थलमा नै आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० जनाभन्दा बढीले रक्तदान गरेका रेग्मीले बताए ।

महोत्सव अन्तर्गत बुधबार विभिन्न सांस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगिता भएका छन् । रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठका अनुसार बुधबार चर्चित लोक तथा दोहोरी गायक रामजी खाँणले आफ्ना चर्चित गीतहरु गाएर दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए । खाँणसहित महोत्सवको सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेको श्रेष्ठले बताए ।

बुधबार झुवानी स्कुलमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरुबीच दौड प्रतियोगिता गरिएको महोत्सवका खेलकुद संयोजक दिनेश कट्टेलले जानकारी दिए । विभिन्न व्यक्तिहरु लक्षित कार्यक्रम भइरहदा फरक क्षमता भएका व्यक्तिहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले महोत्सवमा उनीहरुबीच दौड प्रतियोगिता राखिएको कट्टेलले बताए ।

तपाईको प्रतिक्रिया