
काठमाडौँ- नेपाली काँग्रेसको अन्तरिक विवाद समाधानका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएको छ ।
सभापति देउवा निवास बूढानीकण्ठमा बुधबार साँझ उनीहरुबीच पार्टीको महाधिवेशन, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा सकारात्मक छलफल भएको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।
झन्डै तीन घन्टासम्म भएको बैठकमा विवाद समाधानका लागि यसअघि उपसभापति निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले गरेको गृहकार्य तथा छलफलका बारेमा समेत जानकारी गराइएको थियो ।
बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तोकिएको मिति कायमै राख्ने तर अन्य तहका आगामी वर्ष मंसिरमा हुने अधिवेशन हिमाली क्षेत्रमा समयमै गर्न गाह्रो हुने देखिएपछि मिति सार्न सकिनेबारेमा छलफल भएको उनले बताए ।
बैठकमा विधानका दफा निलम्वन, पार्टीका केन्द्रीय विभाग, नेपाल विद्यार्थी संघ, तरुण दललगायत विषयमा समेत छलफल भएको थियो ।
शुक्रबार बिहान ९ बजे बसेर टुंग्याउने विषयमा नेताहरु सहमत भएको उपसभापति निधिले बताए । बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति निधि नेताहरु सिंह र सिटौला उपस्थित थिए ।
काँग्रेसमा गत पुस ११ गते केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि सभापति देउवा र नेता पौडेल पक्षबीचमा विवाद देखिएको हो ।
काँग्रेस केन्द्रीय कार्यसमितिको पुस ११ गते बसेको बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने लगायतका निर्णय गरेको थियो ।
सो बैठकमा आफ्नो माग पूरा नहुने देखेपछि नेता पौडेल पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्य अनुपस्थित भएका थिए ।