
पोखरा- आमा सेतुलीमाया शाक्य स्मृति वृत्तिबाट चितवनको गामबेँसी चेपाङ संरक्षण केन्द्रका संस्थापक अध्यक्ष केपीकिरण शर्मा सम्मानित भएका छन् । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराद्वारा सञ्चालित उक्त वृत्ति तथा सम्मानको राशि एक लाख रुपैयाँ र सम्मानपत्र रहेको छ ।
पोखरामा मंगलबार आयोजित समारोहमा प्रमुख अतिथि नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा श्रेष्ठले मानवकल्याणको सपनाले नै समाजलाई अग्रगतिमा पु¥याउने बताए । अल्पसंख्यक चेपाङ जातिको संरक्षणमा सञ्चालित संस्था सम्मानित हुँदा संस्थालाई दिगो बनाउनसमेत टेवा पुग्ने उनले उल्लेख गरे । उनले उक्त संस्थाको आफूले अवलोकन गरेको स्मरण गर्दै व्यवस्थित रुपमा सञ्चालन भएको बताए ।
सम्मानित शर्माले आफूले शुरुमा पत्रकारिता माध्यमबाट चेपाङ बालबालिकाको संरक्षणमा सहयोग पु¥याउँदै आएकोमा ठोस उपलब्धि नदेखिएपछि संस्था नै खोलेर संरक्षणमा लागेको जानकारी दिए ।
संस्थाको हाल एक विघा जग्गाभित्र साढे दुई करोड रुपैयाँ खर्चेर संरचना बनाइ १६५ जना बालबालिकाको लागि आवास र शिक्षाको व्यवस्था गरिएको जानकारी गराउँदै उनले प्राप्त सम्मानले अझ व्यवस्थित गर्न हौसला प्रदान गरेको बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले निःस्वार्थ भावले समर्पित व्यक्ति वा संस्थाको सम्मान समाजका लागि महत्वपूर्ण कार्य भएको बताए । विदेशी सहयोग नलिई संस्था चलाउनु सम्मानित शर्माको सुन्दर पक्ष रहेको उनले उल्लेख गरे ।
प्रतिष्ठानका ज्येष्ठ सदस्य विलबहादुर गुरुङले ढुङ्गालाई चामल पैसा चढाउनुको सट्टा असहाय बालबालिकालाई सहयोग गर्नु धेरै धर्म हुने बताए ।
संस्थापक संरक्षक विश्व शाक्यले पितृमातृ ऋण सात जुनीमा पनि तिर्न नसकिने र सत्कर्म गरेर पितृऋणबाट मुक्त हुन सकिने बताए ।
उनले प्रतिष्ठान स्थापनाको उद्देश्य र यसका गतिविधिबारे प्रकाश पारेका थिए । कार्यक्रममा प्रतिभा चयन समिति संयोजक भूपनिधि पन्तले सम्मानित व्यक्तित्वको परिचय दिएका थिए ।
प्रतिष्ठान अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नयाँ अध्यक्ष कृष्णप्रसाद बास्तोलाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम सञ्चालन सचिव ईन्द्रकमल मानन्धरले गरेकी थिइन् ।
सोही समारोहबीच नयाँ कार्य समितिको पदस्थापन गरिएको थियो । पदस्थापन कार्यक्रमको सञ्चालन कल्याण पन्तले गरेका थिए । प्रतिष्ठानको बुधबार सम्पन्न सातौं अधिवेशनले कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि नयाँ समिति गठन गरेको हो ।