नवलपरासी- पश्चिम नवलपरासीको सुनवल-३, कृतिपुरका २० वर्षीय महादेव पुन आफ्नै साथीलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार केही दिनअघि चिनजान भएका महादेवले २३ वर्षीय संयोज गुरुङ र कास्कीको पोखरा महानगरपालिका १ का २४ वर्षीय जगदीश गुरुङलाई चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते पोखराका जगदीशको बुधबार उपचारको क्रममा मृत्यु भएको हो । अर्का घाइते संजोग गुरुङ उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
मंगलबार राति मादक पदार्थ सेवन गरेपछि संजोग र जगदीशले फोनमा महादेवलाई गाली गरेपछि उनीहरुबीच विवाद भएको थियो । फोनमा विवाद भएपछि संजोग र जगदीश महादेवको घरमा आई झगडा गरेपछि दुवै पक्षबीच हात हालाहालको स्थिति उत्पन्न हुँदा महादेवले चक्कु निकालेर दुवैमाथि प्रहार गरेको प्रहरीले जनाएको छ ।