
हेटौंँडा- बाग्मती प्रदेश सरकारले यही माघ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ ।
तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गत पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सो दिन सार्वजनिक बिदा दिइएको जनाएको छ ।
प्रदेश सरकारले बिदा घोषणा गरेकाले प्रदेशभर छुट्टी हुने वाग्मती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले जानकारी दिए । काठमाडौँ उपत्यकाका हकमा भने केन्द्र सरकारको राजपत्रानुसार हुने उनले बताए ।
गृह मन्त्रालयले गत वैशाखमा प्रकाशन गरेको राजपत्रानुसार प्रदेश सरकारले बिदा दिँदा आफ्नो प्रदेशभित्रका केन्द्र मातहतका कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय, शिक्षालय, उद्योगधन्दा बन्द रहनेछन् ।
केन्द्र सरकारले प्रदेश सरकारलाई बढीमा एक वर्षमा ६ दिन बिदा दिन पाउने अख्तियारी दिएको छ ।
सोही अख्तियारीअनुसार प्रदेश सरकारले आफ्नो प्रदेशका महत्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक चाडपर्व आदिमा आवश्यकता हेरी बढीमा ६ दिनसम्म बिदा दिन पाउने व्यवस्था छ ।
छ दिनभन्दा बढी बिदामा भने केन्द्र मातहतका कार्यालयलाई गृह मन्त्रालयको निर्णय लागू हुनेछ ।
राजपत्रानुसार काठमाडौँ उपत्यकाका तीन जिल्लाका केन्द्र मातहतका कार्यालयलाई भने प्रदेश सरकारको बिदा लागू हुने छैन ।
उक्त राजपत्रको खण्ड (ग)मा काठमाडौँ उपत्यकाका तीन जिल्लामा प्रदेश सरकारले दिएको बिदा नेपाल सरकार, गृह मन्त्रालयको निर्णयअनुसार हुनेछ भनी उल्लेख गरिएको छ ।