चितवन- भरतपुर महानगरपालिका वडा नम्बर १२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले रजत महोत्सव भव्यरुपमा मनाउने भएको छ ।
स्थापनाको २५ औँ वसन्त पुरा गरेको अवसरमा स्कुलले भव्यताका साथ मनाउन लागेको बिहीबार स्कुलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
स्कुलले माघ १२ देखि २४ गतेसम्म विभिन्न सिर्जनात्मक कार्यक्रम गरी मनाउन लागिएको स्कुलकी प्राचार्य इन्दिरा कार्कीले जानकारी दिइन् ।
सो अवसरमा बोल्दै कार्कीले यस अवधिमा स्कुलले विद्यार्थीहरुको लागि सांस्कृतिक कार्यक्रम, जिल्लास्तरीय अन्तरविद्यालय फुटसल प्रतियोगिता गर्ने भएको बताइन् ।
यस्तै श्रीपञ्चमी विशेष कार्यक्रम, सहिद दिवस, सांस्कृतिक कार्यक्रम, जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता, जिल्लास्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता आयोजना गरिने उनले बताइन् ।

यस्तै उनले निमार्णाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालालाई सहयोग रकमसमेत हस्तान्तरण गरिने बताइन् । स्कुलले भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोह तथा एल्मुनाइ एशोसियसन गठनलगायतका कार्यक्रमहरुलाई समावेश गरिएको बताएको छ ।

रजत महोत्सवलाई सफल पार्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ भने २० वटा उपसमिति रहेको स्कुलले जानकारी दिएको छ ।

हालसम्म स्कुलले व्यावहारिक र सैद्धान्तिक शिक्षालाई जोड दिँदै खेलकुद र अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता राखिएको कार्कीको भनाइ छ ।

हाल उक्त स्कुलमा एक हजारभन्दा बढी छात्रछात्राले अध्ययन गर्दै आएका छन् । कार्यक्रममा ग्रीनल्याण्ड पब्लिक स्कुलका सह–प्राचार्य उपेन्द्र आचार्य र सल्लाहकार सूर्यनाथ मरहठ्ठालगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया