अजित अधिकारी
चितवन- माडी नगरपालिका ८ स्थित जनजीवन माध्यमिक विद्यालयमा बिहीबारदेखि माडी नगरस्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ ।
शैक्षिक सीप र शिक्षकहरुबीचको मित्रता कायम गराउने उद्देश्यका साथ खेल आयोजना गरिएको हो ।
नगर परीक्षा समिति माडीको आयोजनामा बिहीबारदेखि सुरु भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा कुल ३४ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । जनजीवन माध्यमिक विद्यालयको प्राङ्गणमा हुने माडी नगरस्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पुरुषतर्फ १८ टिम र महिलातर्फ १६ वटा टिमको सहभागिता रहने छ । उक्त प्रतियोगिता दुई दिनसम्म चल्नेछ ।
उदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा रहेका माडी खेलकुद विकास समितिका अध्यक्ष एवम् माडी ५ का वडाध्यक्ष रामबन्धु पोख्रेलले खेलकुदको विकासको लागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिँदै खेल क्षेत्रले विद्यार्थी, शिक्षकलगायत सबैको खेल मनोविज्ञानका क्षेत्रमा सघाउ पुर्याउन सक्ने धारणा व्यक्त गरे ।
साथै उनले माडी नगरपालिका खेलकुद विकास समितिबाट सो प्रतियोगिताको लागि रु ७५ हजार र साथमा खेलकुद सामाग्रीहरुसहित सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उक्त कार्यक्रममा माडी नगरपालिका ९ का वडाध्यक्ष एवम् प्रवक्ता शिवहरि सुवेदी, माडी नगरपालिका ८ का वडाध्यक्ष एवम् शिक्षा विकास समितिका संयोजक कृष्णराज अधिकारी, माडी नगरपालिका ७ का वडाध्यक्ष बालकृष्ण सापकोटा, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष मथुराबहादुर भण्डारी रहेका थिए ।
उक्त उदघाटन समारोह कार्यक्रममा जनजीवन माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद पौडेल, इलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्कबहादुर विश्वकर्मा, एकीकृत नेपाल शिक्षक संगठन एवम् दिवाकर स्मृति विद्यालयका प्रधानाध्यापक ऋषिराम काफ्ले, श्री राष्ट्रिय आधारभूत विद्यालय दिवानगरका प्रधानाध्यापक यमकुमार काफ्लेलगायतका माडीका विभिन्न शिक्षण संस्थामा कार्यरत शिक्षक प्रतिनिधिहरुको कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो ।
जनजीवन माध्यमिक विद्यालयका शिक्षक रामप्रसाद भण्डारीले सहजीकरण गरेको कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष एवम् शिक्षा विकास समितिका संयोजक कृष्णराज अधिकारीले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
नगर परीक्षा समिति माडीका अध्यक्ष एवम् जनजीवन माध्यमिक विद्यालयका प्रधानाध्यापक शोभाखर गौतमको अध्यक्षतामा उदघाटन कार्यक्रम सम्पन्न भएको हो । मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको नतिजा र समापन आज साँझ हुनेछ ।