
चितवन- अदालतमा ज्यानसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा प्रतिनिधिसभाको सभामुख पदमा मनोनयन गरिएका नेकपाका नेता अग्नि सापकोटाको वचावट गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सापकोटामाथि कुनै मुद्दा नरहेको जिकिर गरेका छन् ।
पत्रकारहरूको कुराकानीमा उनले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको दाबी गरे । सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गरेका सापकोटाको विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भने, “मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।”
सिङ्गै संसद्ले उनलाई स्वीकार गरिसकेको भन्दै उनले थपे, “उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नु कुनै औचित्य छैन ।”
चितवन यसै पनि सुरक्षाको दृष्टिले देशकै संवेदनशील जिल्ला हो । तथापि चितवन प्रहरी प्रमुखविहीन बनेको झन्डै एक महिना भइसक्दा पनि प्रहरी प्रधान कार्यालयले अझैसम्म चितवनमा प्रहरी प्रमुख पठाउन सकिरहेको छैन ।
चितवनमा एसपी प्रहरी प्रमुख रहने व्यवस्था भए पनि अहिले डिएसपी एकनारायण कोइरालाले जिल्लाको कमाण्ड सम्हालिराखेका छन् ।
प्रहरी प्रधान कार्यालयले जिल्लाका तत्कालीन एसपी दानबहादुर मल्लको सरुवा गरी उनको ठाउँमा एसपी गंगा पन्तलाई सरुवा गरे पनि उनले कार्यभार सम्हाल्न पाएकी छैनन् ।
मल्ल अटेरी गर्दै दुई साता चितवनमै बसेर प्रदेश प्रहरी कार्यालयको १२ घन्टे अल्टिमेटमपश्चात् काठमाडौँ सरुवा भएर गएपछि चितवनमा प्रहरी प्रमुख कसलाई ल्याउने भन्ने विषयमा नेताहरुबीच जुँगाको लडाइँ भएको छ । यसै सन्दर्भमा दाहालको गृहजिल्ला चितवनमा केही समययता प्रहरी प्रमुखविहीन भएको सन्दर्भमा सोधिएको प्रश्नमा पनि उनले सरकारले आफ्नो अनुकूलतामा प्रहरी प्रमुख पठाउने बताए ।
प्रहरी नायब उपरीक्षकले राम्रै काम गरिराखेको भन्दै उल्टै दाहालले प्रश्न गरे, “चितवनमा सुरक्षा खतरा पैदा भएको छ र ? मलाई त केही भएजस्तो लागेको छैन ।”
चितवनमा प्रहरी प्रमुख को आउँछन् ? भन्ने सन्दर्भमा उनले सरकारले नै भन्ने भन्दै पन्छिएका छन् ।